नारी, व्रत, दर र दारु

संगीता भट्ट
नेपाली नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीजको चहलपहलले यतिबेला गाँउदेखि शहरसम्मलाई छोपेको छ । रातो सारी , हरियो छड्के तिलहरी, कानमा यार्लिङ्ग, नाकमा वुलाकी शीरमा शीरवन्दी लगायतका गहनाहरुमा सजिएर उत्साहपूर्वक नाचगान गरेर तीज पर्व मनाउने चलन चलिआएको छ ।
तीजको अघिल्लो दिन दरखाने र तीजको दिन जल पनि नखाई कठोर ब्रत बसेर नारीहरुको यो पर्वको सम्मानमा समर्पित हुन्छन । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न हुन्छ ।

भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति बोकेको पर्व हो । पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्ता समेत थपिएको छ ।तीजको मौलिकता भनेकै गीत नै हो । पहिले–पहिले तीजको बेलामा गाइने तीजका भाका र अहिलेका तीज गीत सुन्दा आकाश पातलको फरक पाइन्छ ।

पहिले जव साँझपर्छ अनि वल्लो घरे साइली र पल्लो घरे माईलीसहित गाउँघरका महिला दिदीबहिनी जम्मा भएर वर्ष भरिका दुःख पीडा बटुलेर गीत बनाई गाउने, र पीडाबीच रमाउने गर्दथे । गीतमा सासु र नन्दको यातनामात्र नभई पाएको माया पनि समेटिन्थ्यो । माइती जान नसक्दाका विरहका वाँसुरीहरु बज्थे । समय संगसगै तीज पर्व मनाउने शैलीहरुमा परिवर्तन भएका छन् । विकृति भनौ या सस्कृतिनै यसपालीको तीजमा दरको साटो रक्सि खाईन्छ

भन्ने जस्ता गीत पार्टी प्यालेसमा घन्किएको सुनिन्छ ।यूटूबमा भ्यूअर’ बढाउनका लागि मात्रै ध्यान दिदा आज तीजको मौलिक पहिचान गुम्न थालेको छ । केहि वर्ष अगाडि गायिका हरिदेवी कोईरलाले बजारमा ल्याएको तीज गीत सम्झदा पनि मनै आनन्द हुन्छ । सायद धेरै दिदीवहिनीहरुको लुकेको कथा यही थियो ।

दिदी बैनीहरुले आफ्नै गीत मानेर बर्षो गाइरहेँ । यतिसम्म की अहिलेसम्म पनि यो गीत उतीकै मन पराईन्छ । आम चेलीहरुको भावना समेटिएको यस्का पंक्तिहरु यस्तो छन् ।
“उडीआयो रानी चरी वस्यो सेतो हिमालमा
बुहारी भन्दा दाईजो प्यारो अहिल्य नेपालमा
मुखले त भन्छन् सबले दाईजो हाम्लाई चाहिन्न
साच्चै दाईजो नलिने त कोहि पाईन्न” ।

“तीजमा नबोलाए हामी पनि आइदैन तिहारमा बोलाएनौ भन्न पाईदैन” ,यसरी तीजका गीतहरुमा दिदी बहिनीहरुले भाका मिलाएर गाँउदा वास्तवमानै ती गीतले सन्देश छरेका हुन्थेँ । दिदी वहिनीले मनका गुनासाहरु गीतमा पोख्थेँ । तर पछिल्ला बर्षहरुमा धेरै भन्दा धेरै तीजका गीत बजारमा आई रहेका छन् । यसरी आउने केही तीजका गीतले तीजको मौलिकतालाई भने खासै चासो दिएका छैनन् । श्रोता दर्शकलाई अहिले त लोक गीत र तीज गीत छुट्याउनै हम्मे हम्मे परेको छ । केही गीतमा जवानीको गन्ध छ,उन्माद छ र उत्ताउलो पनि । त्यस्लै त्यस्ता गीतहरु परिवार साथिसँगीसँग बसेर सुन्न हेर्न सकिदैन । तीजका गीतमा ठाडै हस्तक्षेप भई रहेको पाईएको छ , तर यसतर्फ कसैले चासो दिएको छैन । यदि देखिएको विकृतिलाई समयमै रोक्न सकिएन भने यसले भोलिका दिनमा समाजलाई नै विकृततिर लैजान्छ र तीजका मर्म र धर्म बोकेका गीत लोप हुने प्रायः निश्चित छ ।

किन खाईन्छ दर ?
विशेषत दहीमा राखेर खाइने काँक्रालाई नै दर भनिन्छ । दर खाने संस्कृति मूलतः नेपाली मध्यपहाडी संस्कृति हो । दर खाने संस्कृतिको सुरुवात राईहरूबाट भएको भन्ने गरिन्छ । बर्खामा खेतीपातीको काम सकेपछि शरीरका लागि आवश्यक पोषणका लागि माध्यमको रूपमा दरको संस्कृति विकास भएको भन्ने गरिन्छ ।
दर कुनै धर्म भन्दा पनि कृषि अर्थात् वर्खाको काम सकिसकेपछि निर्माण गरेको संस्कृतिनै दर हो । ‘यो पूर्णतया नेपाली परम्परा हो ।’ समाज र अर्थतन्त्र फेरिए सँगै दरको परिकार पनि फेरिएको छ ।
अघिल्लो दिन अडिलो खानेकुरा खाँदा ब्रतको दिन सजिलो हुन्छ भनेर दर खाने प्रचलन बसेको हो।
गाउँघरमा तीजको दिन पनि काम गर्नुपर्ने हुन्छ। भोकै दिनभरी काम गर्न सकिदैन, काम गर्न बल पनि चाहिन्छ त्यसका लागि अघिल्लो दिन नै दरिलो, अडिलो खानेकुरा खानुपर्छ भन्ने मान्यता छ ।

किन बसिन्छ तीजको व्रत ?
तीजको दिन हिन्दू नारीहरुले आफ्नो शौभाग्य र परिवारको सुस्वास्थ्यका साथै पतिको दीर्घायुकालागि ब्रत वस्ने गर्दछन् । अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर ब्रत वस्ने र भगवानसंग इच्छित वर माग्ने परम्परा रहि आएको छ ।

तीजमा ब्रत बस्दा ध्यानपर्ने कुराहरु
नेपाली नारीले भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत धेरैले लिने गरेका छन् । पर्व मनाउने वा धर्म सस्कृतिलाई निरन्तरता दिनुका सथै आफ्नो स्वास्थ्यको समेत ख्याल राख्न जरुरी छ । निरन्तर लामो समयको लागि भोकै बस्दा आमाशयमा उत्पन्न हुने खाना पचाउन मद्दत गर्ने एसिड जम्मा हुन गई पेट पोल्ने समस्या हुन सक्दछ।

हाम्रो शरीरमा चिनीको मात्रामा घटवढ छ वा मधुमेह छ भने भोकै बस्दा विभिन्नसमस्याहरु देखा पर्न सक्दछन् । हाम्रो शरीरबाट निरन्तर पानीको मात्रा वाहिरी रहने हुँदा पानी पनि नखाइ व्रत बस्दा पानीको मात्रा कम भई डिहाइड्रेसन हुन सक्दछ । तीजको बेलामा नाँचगानतर्फ ध्यान दिँदा शरीरवाट सदा भन्दा वढि पानीको मात्र बाहिरने हुँदा डिहाइड्रेसन हुने सम्भावना अझै वढी हुन सक्दछ।

शरीरको रक्तचाप घट्न गई अचानक ढल्न सक्ने तथा अन्य समस्याहरु पनि आउन पनि सक्दछ । विभिन्न अनुसन्धानका अनुसार यस्तो अवस्थामा हाम्रो शरीरमा हुने कोलेस्ट्रोलको मात्रा बढ्न गई मुटु रोगहरु लाग्न सक्ने जोखिम बढ्छ । टाउको दुख्न्ने, रिंगटा लाग्ने, कमजोर महशुस हुने हुन्छ । किनभने दैनिक रुपमा खानाहरुबाट पाइने शक्ति नपाउँदा हात खुट्टाहरु दुख्ने तथा कमजोर हुन सक्ने आदि जस्ता समस्याहरु देखिन सक्दछन् ।
तत्काल देखिने असरहरु देखि लिएर दीर्घकालिन असरहरु पनि हुन सक्दछन् त्यसैले ब्रत वस्ने समयमा आफ्नो शारीरिक अवस्थालाई पनि ध्यान दिनु जरुरी छ।
ब्रतको बसेको अवस्थामा छिनछिनमा पानी पिउने , शारीरिक रुपमा धेरै सक्रिय नहुने, आराम गर्ने , शीतल वातावरणमा बस्ने, निरन्तर खाइरहनुपर्ने औषधिहरु छन भने समयमै खाने , शरीरको शक्ति वढी खर्च हुने कामहरु नगर्ने तथा व्रत सकिने बितिक्कै खाइने खानामा पनि विचार पु¥याउनु पर्ने हुन्छ ।

Leave a Reply