म्याग्दीका भविन्द्रले थालेको ‘भौतिक शास्त्र पुनर्निर्माण अभियान’ जापान पुग्यो

(धु्रबसागर शर्मा)
म्याग्दीको बेनी नगरपालिका वडा नं ३ फापरखेतका युवा भविन्द्र कुवँर (भवभिन्न)ले शुरु गरेको भौतिक शास्त्र पुनर्निर्माण सम्वन्धि एक वैज्ञानिक अभियान जापान पुगेको छ ।

चार वर्षअघि भविन्द्र कुवँरले नेपालका केही भौतिक शास्त्री, प्राध्यापक तथा विशेषज्ञहरुको सल्लाहा अनुसार थालिएको उक्त अभियानले नेपालका विभिन्न स्थानहरुमा कार्यक्रम सम्पन्न गरिसकेको छ । अभियान भौतिक विज्ञानका नयाँ खोजहरु गरी तिनको प्रदर्शन र प्रस्तुत गर्ने लक्ष्यका साथ अघि बढेकाले यस अभियानका कार्यक्रमहरु निकै महत्वपूर्ण र फरक रहँदै आएको अभियानको दावी छ ।

नेपालभित्र म्याग्दी,बागलुङ,पर्वत,चितवन,काठमाडौँ, ललितपुर, भक्तपुर आदि जिल्लाहरुमा समेत यस अभियानसँग सम्बन्धित परीक्षण तथा प्रवचन कार्यक्रमहरु गरिएको भौतिक शास्त्र पुनर्निर्माण अभियानका केन्द्रिय अध्यक्ष भविन्द्र कुवँरले जानकारी दिनुभयो । अध्यक्ष कुवँरका अनुसार अभियानले हालसम्म दर्जनौँ भौतिक शास्त्र प्रवचन कार्यक्रम, परीक्षण र सचेतनामूलक कार्यक्रमहरु अघि बढाउँदै आएको छ ।

भौतिक शास्त्रसम्बन्धी चेतना फैलाउने लक्ष्यसहित स्वदेश तथा विदेशमा सन्जालहरु विस्तार गर्ने अभियान अन्तर्गत जापानमा शाखा विस्तार गरिएको हो । विश्वव्यापी वैज्ञानिक अभियानले जापान सन्जालमार्फत् जापानका विभिन्न शिक्षण संस्था र अनुसन्धान केन्द्रहरुमा भौतिक शास्त्रसम्बन्धी सचेतना, प्रवचन र परीक्षणहरु प्रदर्शन र सन्चालन गर्ने लक्ष्य राखेको छ ।

केही वर्षअघि त्रिभुवन विश्वविद्यलय, काठमाडौँ विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट, काठमाडौँ मोडेल कलेज, युनिभर्सल उच्च माध्यमिक विद्यालय, हेराल्ड इन्टरनेशनल कलेज, युनाइटेड स्कलर्स एकेडेमी, अरनिको इन्टरनेशनल कलेज लगाएत देशका दर्जनौँ शिक्षण संस्थाहरुमा परीक्षणहरु सफलतापूर्वक सम्पन्न गरिएको अध्यक्ष कुवँरले जानकारी दिनुभयो ।

Leave a Reply