म्याग्दी सदरमुकाम बेनीमा बर्खेनाच सुरु भएको छ । नेपाल भाषा मंकाः खलको आयोजनामा प्राचीन समयमा समाजमा खलपात्रको रुपमा चिनिएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि कालीगण्डकीमा विसर्जन गरेसँगै एक महिने बर्खे नाच सुरु भएको हो । मंगलबार संगमचोकबाट तीनखुट्टे राक्षसको प्रतीकात्मक आकृतिलाई बजार परिक्रमा गराई विर्सजन गरिएको थियो । घण्टाकर्णलाई नदीमा बगाएपछि बर्खेनाच औपचारिक रुपमा सु्रु हुने नेपाल भाषा मंकाःखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

‘आजदेखि बर्खेनाच सुरु भएको छ,‘युवापुस्ताको सक्रियताले सहज भएको छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । लाखेनाच, घोडानाच, नागानागीनी नाच, श्रीकृष्ण र सथयात्रा सहित विविध नाच देखाइने अध्यक्ष श्रेष्ठको भनाई छ। बर्खे नाचमा मंकाःखल अन्तरगतको यूवा संगठन ल्यामपुचले आवश्यक तयारी सहित सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

बर्खेनाचअन्तर्गत जनैपूर्णिमाको दिन र भोलिपल्ट वर्षभरिमा दिवंगत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात् नागानागीनी नाच निकाल्ने चलन छ।समाजमा दुःख दिएको र विकृति फैलाउने घण्टाकर्णको बिसर्जनपछि पति वियोगमा परेकी राक्षसको पत्नीले देखाउने चरित्रलाई बर्खे नाचमार्फत प्रदर्शन गर्ने मंकाः खलका निर्वतमान अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिन्छ। बर्खेनाचको समापनसँगै चाडपर्वको रौनकता छाउने भएकाले पनि बेनीबजारमा यसको महत्व धेरै रहेको छ । बेनीमा देखाइने बर्खे नाच नेवारी समुदायको परम्परागत संस्कृति हो।

बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसावास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाहरुले पनि साथ दिने गरेका छन्। सदरमुकाम बेनीबजारमा तीनसय बर्ष पहिले मानवबस्तीको विस्तार भएदेखी नै बर्खे नाँच सुरू गरिएको बताइन्छ । बर्खेनाचअन्र्तगत तिजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच सकिने प्रचलन छ।

Leave a Reply