उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३,दानामा अवस्थित रुप्से खोलामा सवारीसाधन वारपार गरेका छन् । बेनी–जोमसोम सडकखण्ड अन्तरगत गएको भदौ ३१ गते राती रुप्सेको बाढीले बगाएको सडक मर्मतसँगै शनिबार साँझदेखि सञ्चालनमा आएको बेनी–जोमसोम कोरला सडक आयोजनाले जनाएको छ ।

निरन्तरको वर्षासँगै मध्यरातामा आएको बाढीले दोस्रोपटक रुप्सेमा कटान गरेपछि दुवैतर्फबाट आयोजनाले मेसिनको प्रयोग गरी अवरुद्ध हटाएको आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिनुभयो ।

रुप्से आसपासको करिब दुई सय मिटर सडक पहिरो र रुप्सेखोलाको बाढीले ठूलो क्षती पुर्याएपछि सवारीसाधन अलपत्र परेका थिए ।

रुप्से झरनाको तल्लो क्षेत्रमा खोंच बनाएकाले थप कटान र क्षतीको जोखिम रहेको छ । अस्थायी काठको फड्के बगाएपछि रुप्से–काभ्रे जोड्न स्थानीयको मर्मत गरेका थिए ।

गएको साउन ५ गते रुप्सेमा आएको बाढीले रेष्टुरेन्ट, बस, स्काभेटरका साथै रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल बगाएको थियो।

सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादन भएको स्याउ निर्यातमा समस्या भएको छ । स्याउ किसानले टिपेर तयारी अवस्थामा राखेको स्याउ लिन गएका ठूला मालबाहक ट्रक समेत बाटोमै अलपत्र परेका छन् ।

अझैपनि काभ्रे र घोप्टे ओडार आसपासका क्षेत्रमा खसेको पहिरो मर्मत गरेपछि मात्रै सिधा यातायात सञ्चालन हुने आयोजनाले जनाएको छ ।मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको बेनी–जोमसोम सडक गएको असार महिना यता सहज सञ्चालनमा आउन नसक्दा उत्तरी म्याग्दी र मुस्ताङबासी समस्यामा परेका छन् ।

Leave a Reply