लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४२औं जन्मजयन्तीको अवसर पारेर बुधबार विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोसाक सहयोग भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा म्याग्दीको बेनी नगरपालिका–८, कालीपुलमा सञ्चालित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सामग्रीहरु सहयोग गरिएको हो ।

म्याग्दी दोभानले बालमन्दिरमा अध्ययरनमध्ये छात्रा ८ जना र छात्र ७ जनालाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ । विद्यालयको सिफारिसमा ८ जना विद्यार्थीहरुलाई ज्यामिती बक्स, कापीकलम र पोसाक तथा ७ जनालाई कापी, पेन्सिल र पोसाक सहयोग गरिएको लायन्स क्लब अफ म्याग्दी दोभानका पूर्व अध्यक्ष गीता रिजाल शर्माले जानकारी दिएकी छन् ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ म्याग्दी दोभानका संस्थापक अध्यक्ष अमृतदेवी बानियाँले विद्यार्थीको पढाइमा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सहयोग गरिएको बताइन् ।

क्लबका वर्तमान अध्यक्ष शर्मिला थापाले लायन्स क्लबहरुले जिल्लाको सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउँदै सोहीअनुसार विद्यार्थीहरुलाई पनि शैक्षिक सामग्रीहरु उपलब्ध गराइएको बताएकी छन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्रप्रसाद केसीले विद्यालयको अवस्थाबारे जानकारी गराउँदै जिल्लास्थित विभिन्न संघसंस्थाको सहयोगमा विद्यालयको विकास र विद्यार्थीको अध्ययनमा सहयोग पुगेको बताएका थिए । कार्यक्रम क्लबका वर्तमान अध्यक्ष थापाको अध्यक्षता र पूर्व अध्यक्ष गीता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply