पश्चिम म्याग्दीको मंगला शिक्षा क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहभागि हुने ५४ जना मतदाता छन् । पहिलोपटक सदरमुकाम बाहिरको क्याम्पसमा हुन लागेको चुनावलाई आफ्नो पक्षमा पार्न तीन ठुला राजनीतिक दलका जिल्ला तथा गाउँस्तरका नेताहरू समेत घरदैलो, टेलिफोन, अन्र्तरक्रिया, भेटघाटमा ब्यस्त छन् ।

मिनी सांसदको निर्वाचनका रुपमा हेरिएको विद्यार्थीको चुनावमा अभिभावकलाई समेत विभिन्न प्रलोभन देखाएर आफ्ना छोराछोरीको मत तान्ने प्रतिस्पर्धा भइरहेको छ । दैनिकजसो छोराछोरीलाई आफ्नो पक्षमा मतदान गर्न अभिभावकको फोनमा समेत घन्टी बज्न थालेपछि क्याम्पसको चुनावी माहोल गाउँसम्म पुगेको छ । एकदिन एउटा उम्मेदवारीको सर्मथनमा भोट माग्दै हिड्ने विद्यार्थीलाई विभिन्न प्रलोभन देखाएर अर्को दिन फिर्ता लिने गरेका दृष्यले समेत विद्यार्थी संगठन विच तिब्र प्रतिस्पर्धा भइरहेको छ ।

जिल्लामा क्रियाशिल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शक्ती पार्टीका नेतालाई विद्यार्थीभन्दा सक्रिय देखिएका छन् ।‘अभिभावकमार्फत विद्यार्थीलाई दवाव दिने काम भइरहेको छ ।बुबाआमाले भोट हाल्ने पार्टीमै भोट हाल्नुपर्छ भन्दै विभिन्न प्रलोभन देखाइएको छ’ नेविसंघ–नयाँ शक्ती संयुक्त प्यानलकी सचिव उम्मेदवार सोनिया आचार्यले बेनीअनलाइनलाई भनिन् । उनले विद्यार्थीलाई आर्थिक, जागिर, ग्याँस लगाएत विभिन्न किसिमका प्रलोभन देखाएर समेत चु्नावको मत परिणाम आफ्नो पक्षमा पार्ने प्रयास भइरहेको समेत गुनासो गरिन् ।

आचार्यले जस्तै अखिल क्रान्तिकारी,अनेरास्ववियूले समेत विद्यार्थी संगठनमै सक्रिय रहेका विद्यार्थीलाई अनावश्यक दवाव दिइरहेको दावी गरेका छन्। जिल्लामा जनप्रतिनिधिहरू नै विद्यार्थीलाई दवावमा राख्ने गरी अगाडी बढेको अखिल क्रान्तिकारीले दावी गरेको छ । ‘एजेण्डाको आधारमा विद्यार्थीले भोट हाल्ने अवस्था छैन । बाजेको पालका इतिहास देखाउँदै विद्यार्थीलाई दवावमा राख्ने प्रयास भइरहेको छ’ मंगला शिक्षा क्याम्पसमा क्रान्तिकारीको तर्फबाट अध्यक्षककी उम्मेवदार कुशम पाण्डेले भनिन् ।

उनले उम्मेवादर दिएर मैदानमा उत्रिएकालाई समेत समाजका शिक्षित बर्गबाटै दवावका राख्ने प्रयास भइरहेको गुनासो समेत गरिन् ।एजेण्डा र सक्रियताका आधारमा चुनावको वातावरण बनाएर फराकिलो अन्तरले विजय हुने दावी समेत गरिन् । आगामी बैशाखमा हुने स्थानीय निर्वाचनलाई जिल्लामा माहोल बनाउन विद्यार्थीको चुनाव जित्ने गरी राजनीतिक दल नै सक्रिय भएपछि चुनावी सरगर्मी बढेको छ । बावियाचौरमा पुर्व राज्यमन्त्री एवम् एमालेकी सांसद नरदेवी पुन सहितका नेताहरूले अखिल, पश्चिम म्याग्दीका कांग्रेस नेता, नयाँ शक्तीका नेताहरू संयुक्त प्यानललाई जिताउने गरी सक्रिय छन् ।

त्यस्तै सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकिय सचिवालय सदस्य पुनम खड्का सहित माओवादीका जिल्लास्तरका नेताहरु समेत क्रान्तिकारीको प्यानललाई जिताउने गरी योजना बनाइरहेका छन् । थोरै मतदाता भएकाले परिणाम आफ्नो पक्षमा पार्ने गरी सक्रिय भएका राजनीतिक दलले अन्तिम विकल्पका रुपमा विद्यार्थीका छिमेकीलाई समेत साथमा लिएर भएपनि आफ्नो पक्षमा मतपरिणाम पार्ने कसरत गरिरहेको देखिन्छ ।