‘रिचार्ड कार्ड र पैसा बाँड्नेलाई कसिलो चोट’ फागुन १८ गते बुधबार म्याग्दी बहुमुखी क्याम्पसमा हुने निर्वाचनमा विप्लव माओवादी नेतृत्वको क्रान्तिकारीको नारा हो यो । विभिन्न विद्यार्थी संगठनले विद्यार्थीको मतलाई आफ्नो पक्षमा पार्न दैनिकजसो १ हजार देखी ५ हजारसम्म रिचार्ड कार्ड र नगद बाँडिरहेको गम्भीर आरोप लगाउँदै सभापति पदमा उम्मेवारी दिएका सम्राट सापकोटाले क्याम्पसभित्रको अराजकतालाई अन्त्य गर्न झिल्काको रुपमा प्रवेश गरी ज्वाला बन्ने योजना सहित मैदानमा उत्रिएको बताएका छन् ।

‘विद्यार्थीलाई पैसा दिएर खरिद गर्नेहरुका विरुद्ध मेरो उम्मेदवारी हो । विद्यार्थी उमेरबाटै पैसाको खोलो बगाउने प्रबृत्तिको विरुद्ध अन्तिम समयसम्म लड्ने छौ’ सापकोटाले बेनीअनलाइनलाई भने । त्रिभुवन विश्व विद्यालय अन्र्तरगतका धेरैजसो क्याम्पसमा सहकार्य गरेर चुनावी मैदानमा उत्रिएपनि म्याग्दीमा पैसा र पहुँचबाट विद्यार्थीलाई दवावमा राख्ने प्रयास भइरहेकाले स्वाभिमानका लागि उम्मेदवारी दिएको दावी गरे । ‘उम्मेदवारी दर्ताए नगर्दासम्म हामीलाई तिनै पैसा बाँड्नेहरुबाट फोन आइरहेको थियो ।कता तालबन्दी गर्छन् र लगानी डुब्छ भन्ने चिन्ता उनीहरुमा देखिन्थ्यो’ सापकोटाले भने ।

संसदीय ब्यवस्था विरुद्ध पार्टीको केन्द्र अगाडी बढ्नुमा पनि पैसाको खेल, जनताको अधिकार कुन्डित गर्नेहरुका विरुद्ध भएको बताउँदै सापकोटाले कलिला विद्यार्थीलाई पैसाको प्रलोभनमा राखेर विद्यार्थीलाई खरिद गर्ने तल्लोस्तरको कार्यका विरुद्ध निर्वाचन पछाड पनि सक्रिय हुने सापकोटाले बताए । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिने उमेद्वारहरुको अन्तिम नामावली सार्वजनिक गने क्रममा समेत उनले आफ्नो उम्मेदवारी स्वाभिमानी विद्यार्थीका लागि भएको प्रतिक्रिया दिएका थिए । बेनी नगरपालिका–४ आम्बोटका सापकोटा २०६८ सालबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए । अर्जून उच्च मावि भकुण्डेबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका सापकोटा स्नातकतहको ब्यवस्थापन संकायको दोस्रो बर्षमा अध्ययरत छन् ।

उनले क्याम्पसभित्र राजनीतिक दलको भर्तिकेन्द्र, सञ्चालक समितिमा दलिय संंयन्त्र, प्रध्यापकको अगाडी पछाडी हिड्ने विद्यार्थी संगठन, नियमित पठनपाठनको ब्यवस्था नहुनु, राजनीतिक दलका कार्यकताको जस्तै मानसिकता भएका प्राध्यापक, विद्यार्थीलाई सहुलियत, सञ्चालक समितिमा अभिभावकलाई निषेध, अस्तब्यस्त होस्टेल, विद्यार्थीलाई घेराबन्दी लगाएतका समस्यामा परेको क्याम्पसलाई नमुना बनाउन आफ्नो प्यानलका साथीहरुलाई मतदान गर्न समेत अनुरोध गरेका छन्। उनले विद्यार्थीको भावना विपरितका उम्मेदवारलाई विजय गराउनु नै गम्भीर भुल हुने भन्दै क्याम्पसलाई विद्यार्थी र अभिभावकको पहुँचमा पुर्याउन निर्वाचन पछाडी समेत सक्रिय भएर लाग्ने समेत दोहोराएका छन् ।

विज्ञापन