म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी शिवालय मन्दिरमा सञ्चालित महाशिवपुराण महायज्ञको आजसम्म झण्डै १९ लाखभन्दा बढी आर्थिक सङ्कलन भएको छ । करिब ४ सयवर्ष पुरानो प्राचीन ऐतिहासिक तथा धार्मिक तीर्थस्थलको रुपमा अवस्थित मन्दिरमा लगाइएको महायज्ञको नवौं दिन बुधबारसम्म १९ लाख २ हजार ३ सय ७९ रुपैयाँ सङ्कलन गरिएको हो ।

महायज्ञमा हालसम्म सबैभन्दा धेरै रकम बेनी नगरपालिका–६ का तेजनाथ पौडेलले ३१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष पूर्णबहादुर जिसीले जानकारी दिए । प्राचीन महत्व बोकेको मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले ९ गतेदेखि लगाइएको महायज्ञ बिहीबारसम्म सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

शिवालय मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग स्थापनार्थ महाशिवपुराण ज्ञान महायज्ञ आयोजना गरिएको र महायज्ञबाट सङ्कलित रकमले मन्दिरमा भौतिक पूर्वाधारको विकास गरिने महायज्ञका मूल संयोजक बिक्रम श्रेष्ठले बताएका छन् । महायज्ञमा मूलवाचक पण्डित डण्डपाणी उपाध्यायले दिव्य प्रवचन दिइरहेका छन् । यसैगरी महायज्ञको अवसरमा दैनिक पुजा, पाठपारायण, भजनकिर्तन, प्रवचन, सम्मान, आरती, पुष्पाञ्जली, लाखबत्तीलगायतका कार्यक्रमहरु भैरहेका छन् । बेनी शिवालय मन्दिरमा साउन महिनाको सोमबार, मङ्गलचौथी, जनैपूर्णिमा, बालाचर्तुदर्शी, शिवरात्रीलगायतका दिनमा बिशेष पुजाआजा हुँदै आइरहेको छ ।प्रताप बानियाँ