बुधबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा म्याग्दीका दुईवटै क्याम्पसमा छात्राले विद्यार्थी यूनियनको नेतृत्व सम्हालेका छन् । क्याम्पस स्थापनाको पहिलोपटक निर्वाचन सम्पन्न भएको पश्चिम म्याग्दीको बावियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा अनिषा भट्टराई विजय भएको केहीघण्टामै सदरमुकाम बेनीमा रहेको जिल्लाकै पुरानो म्याग्दी बहुमुखी क्याम्पसमा समेत सावित्री केसीले सभापतिमा विजय प्राप्त गरेकी छन् ।

भट्टराईले २३ मत प्राप्त गदैं क्याम्पसकै इतिहासमा स्ववियू सभापति भएकी छन् । त्यस्तै म्याग्दी बहुमुखी क्याम्पसमा केसीले २०४ मत ल्याउँदै इतिहासकै दोस्रो महिला सभापति भएकी छन् । यसअगाडीका ८ वटा स्ववियू सभापतिमा एकजना मात्रै महिला रहेकोमा दोस्रो छात्राको नेतृत्वमा पुगेको म्याग्दी बहुुमुखी क्याम्पसको शैक्षिक सहित आवश्यक विभिन्न योजनाहरुमा काम गर्ने अवसरमा रुपमा समेत उनको कार्यकाललाई हेरिएको छ । दुवैजना नेकपा एमाले सर्मथित विद्यार्थी संगठनबाट सभापति सहित प्यानलमै आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

म्याग्दी क्याम्पसमा निर्वाचनमा सहभागि भएका अन्य विद्यार्थी संगठनबाट समेत सम्मानजनक मत प्राप्त गरेको अवस्थामा उनिहरुलाई मिलाएर लैजान केसीलाई अवसर र चुनौती दुवै छ भने मंगला क्याम्पसको नयाँ जग्गा खरिद संगै भवन सहितका पुर्वाधारमा समेत सहयोगी बनेर विद्यार्थी माझ लोकप्रियता कमाउने अवसर भटराईसंग छ । आठ वर्षपछि भएको स्ववियु निर्वाचनमा यस पटक २८ वर्षे उमेर हदबन्दी र समानुपातीक व्यवस्था लागू भएकाले पनि देशभर विद्यार्थीहरुमा अपेक्षा गरेभन्दा फरक उम्मेदवार देखिएका छन् ।