म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी शिवालय मन्दिरमा सञ्चालित महाशिवपुराण महायज्ञमा २३ लाखभन्दा बढी आर्थिक सङ्कलन भएको छ । करिब ४ सयवर्ष पुरानो प्राचीन ऐतिहासिक तथा धार्मिक तीर्थस्थलको रुपमा अवस्थित मन्दिरमा लगाइएको महायज्ञको अन्तिम दिन आज बिहीबारसम्म कुल २३ लाख १० हजार २ सय ३२ रुपैयाँ सङ्कलन गरिएको हो ।

महायज्ञमा सबैभन्दा धेरै रकम बेनी नगरपालिका–६ का तेजनाथ पौडेलले ३१ हजार १ सय ५१, बेनी शिवालयका संस्थापक अध्यक्ष प्रकाशकुमार श्रेष्ठले २७ हजार ५ सय ५५ र महायज्ञका महासचिव सुन्दर केसीले २५ हजार ६ सय ५५ रुपैयाँ सहयोग गरेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । प्राचीन महत्व बोकेको मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले ११ दिनसम्म महायज्ञ लगाइएको मूल आयोजक समितिका अध्यक्ष बिक्रम श्रेष्ठले बताए ।

महायज्ञबाट सङ्कलित रकमले शिवालय मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग स्थापना, भौतिक पूर्वाधारको विकास तथा शिवालयको संरक्षण र प्रवद्र्धन गरिने महायज्ञ आयोजक समितिका कोषाध्यक्ष पूर्णबहादुर जिसीले जानकारी दिए ।

यसैगरी महायज्ञको अवसरमा दैनिक पुजा, पाठपारायण, भजनकिर्तन, प्रवचन, सम्मान, आरती, पुष्पाञ्जली, लाखबत्तीलगायतका कार्यक्रमहरु आयोजना गरिएको थियो । बेनी शिवालय मन्दिरमा साउन महिनाको सोमबार, मङ्गलचौथी, जनैपूर्णिमा, बालाचतुर्दशी, शिवरात्रीलगायतका दिनमा विशेष पुजाआजा हुँदै आइरहेको छ । यसैबीच गत ९ गतेदेखि लगाइएको महायज्ञ बिहीबार समापन समेत गरिएको छ ।