गाउँपालिकाको विवादले अस्तब्यस्त बन्दै म्याग्दी

2

जिल्ला परिषद्को मुखमा जिविस म्याग्दीमा दोहोरो तालाबन्दी छ । स्थानीय निकायको चुनावमा जुटेको निर्वाचन कार्यालयको ताला प्रशासनले तोडेर कडा सुरक्षाका विच कर्मचारीले काम गरिरहेका छन् । मुस्ताङलाई राजमार्गसंग जोड्ने बेनीजोमसोम सडक अनिश्चितकालिन तालबान्दी छ ।

गाउँगाउँमा नाकाबन्दी सहित आन्दोलनमा स्थानीय जनता होमिएका छन् । स्थानीय तह पुनसंरचनाका क्रममा म्याग्दीका राजनीतिक दलको कमजोरीले जनता विच विभाजन आएको छ । एउटै गाउँपालिकाको केन्द्र दुईवटा गाविसमा प्रस्ताव गरेर पठाइएपछि विभाजित भएका म्याग्देलीहरुले अस्थायी केन्द्रको पक्ष र विपक्षमा चरणबद्ध आन्दोलन सुरु गरेपछि निर्वाचनको मुखमा भइरहेका आन्दोलनले निर्वाचनको माहोललाई असर गरेको छ ।

गत कात्तिम १९ गते शुक्रबार स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले एक होटलमा गरेको संख्या र सिमाना निर्धारण सम्बन्धि गोष्ठीमा एक नगरपालिका र ५ गाउँपालिका मध्ये तीनवटा गाउँपालिकाको केन्द्रमा सहमति भएपनि धौलागिरि र रघुगंगा गाउँपालिकाको केन्द्रमा राजनीतिक दल विच विवाद भएपछि धौलागरिको ताकम र मुना र रघुगंगा गाउँपालिकाको केन्द्र पिप्लेको मौवाफाँट र पाखापानी गाविसलाई प्रस्ताव गरिएको थियो । राजनीतिक दलले गाउँपालिकाको केन्द्र एकठाउँमा तोक्न असफल हुन नै ठुलो कमजोरी भएको सम्बन्धित गाविसका अगुवाहरुको भनाई छ ।

आयोगले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा धौलागिरिको अस्थायी केन्द्र मुना र रघुगंगा गाउँपालिकाको पाखापानी उल्लेख भएको जानकारी पाएपछि पक्ष र विपक्षमा चर्किएको आन्दोलन तालाबन्दी र चक्काजामसम्म प्रवेश गरेको छ । प्रस्तावीत दुई वटा गाउँपालीकाको केन्द्रको विषयमा देखिएको बिवादका कारण जिविसको कार्यालय म्याग्दीमा दोहोरो तालाबन्दि भएपछि तीनदिन देखी जिविसको काम ठप्प भएको छ भने जिल्ला परिषद्को तयारीमा रहेका कर्मचारी समेत अन्यौलमा परेका छन् ।

मौवाफाँटमा केन्द्र कायम गर्नुपर्ने माग गर्दै रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले तालाबन्दि लगाएको जिविसको कार्यालयमा ताकमलाईकेन्द्र बनाउनुपर्ने माग गर्दै आएका धौलागिरी गाउँपालीका संघर्ष समितिले अर्को ताला लगाएर विरोधका कार्यक्रमको घोषणा गरेका छन् ।
दुवै गाउँपालिकाले स्थानीय तहको निर्वाचन बहिस्कार सहित राजनीतिक दललाई गाउँप्रवेशमा समेत रोक लगाउने सम्मका चेतावनी समेत दिइरहेका छन् । रघुगंगा गाउँपालिकाको केन्द्र पिप्ले गाविसको मौवाफाँटमा हुनपर्छ भन्ने माग राख्दै स्थानीयबासीले बिहिबार जिल्लामा विशाल विरोधको कार्यक्रम समेत गरेका छन ।

त्यस्तै धौलागिरि गाउँपालिकाको केन्द्रका लागि ताकमबासीले शु्क्रबार देखी ताकमदेखी माथीका गाविसमा प्रवेश रोक लगाउँदै नाकाबन्दीको घोषणा गरेका छन् । उता अस्थायी केन्द्रका पक्षमा रहेका मुना, लुलाङ, गुर्जा, मुदी, मराङले राज्यले विस्तार गरेको सडक अवरोध गरेर जनतालाई मुडभेडमा जवरजस्ती गरेको आरोप लगाएका छन् । त्यस्तै पाखापानी केन्द्रको पक्षमा रहेकाले पनि आन्दोनलका लागि आफुँहरु समेत तयार रहेको बताइरहेका छन् । जिल्लामा मिलेर बसेका समुदायहरु विच गाउँपालिकाको विवादले विभाजित बनाइरहेको अवस्थामा तत्कालै समाधनका लागि जिल्ला देखी केन्द्रसम्म भइरहेका प्रयासहरु असफल भएका छन् ।

सदरमुकाम देखी गाउँसम्म जनता विच संघर्ष सुरु भएपछि प्रहरीले समेत सुरक्षा सर्तकता बढाएको छ । प्रहरी निरिक्षकको कमाण्डामा ताकममा एक टोली पुगेको छ । त्यस्तै छिमेकी जिल्ला पर्वतबाट समेत शसस्त्र प्रहरीको बल तयारी अवस्थामा राखिएको छ । राज्य पुनसंरचना आयोगले बहुसंख्यक बासिन्दालाई असुबिधा हुनेगरी धौलागिरीको मुना र रघुगंगाको पाखापानीमा अस्थाई केन्द्र कायम गरेको भन्दै जिल्लाका ठुला पार्टीका नेताहरु नै संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएपछि पक्ष र विपक्षमा दलका नेताहरु नै विभाजित भएका छन् ।

संघर्ष समितिले गाउँपालीकामा समेटिएका गाविसको कामकाज ठप्प पारेका छन् भने विद्यालय सहित गाविसस्तरमा रहेका कुनैपनि सरकारी र गैरसरकारी कार्यालयको कम समेत हुन दिएका छैनन् । यथास्थितीमा चुनाव भए बहिस्कार गर्ने, दल र भातृ संगठनबाट राजीनामा दिएर दलविहीन गाविस घोषणा गर्ने चेतावनी दिएका छन् । जिल्लामा भइरहेको आन्दोलनलाई समाधान गर्ने गरी केन्द्रमा प्रयास भइरहको प्रमुख जिल्ला अधिकारी राजु् प्रसाद पौडेलले बताउनुभयो ।स्थानीय विकास मन्त्रालय र आयोगले प्रदेश नम्बर २ मा स्थानीय तह थप गर्ने गृहकार्य गरेको अवस्थामा म्याग्दीको समस्या समाधानका लागि पहल गर्ने नेता तथा सांसदहरुले बताएपनि तत्काल त्यो सम्भव भने देखिएको छैन् । विवादलाई साम्य पारेर चुनावी माहोल बनाउन अस्थायी केन्द्र तोकिएकालाई समेत स्थगित गर्ने विषयमा समेत छलफल भइरहेको छ ।

म्याग्दीबाट बेनी नगरपालिकामा पात्लेखेत र भकिम्ली गाविसलाई समावेश गदैं मंगला गाउँपालिकामा बावियाचौर, कुहुँ,,बरंजा,अर्मन गाविस, मंगला गाउँपालिकामा दरवाङ, निस्कोट, रूम,ओखरबोट, बिम र देविस्थान गाविस, धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविस, रघुगंगा गाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविस र राम्चे, शिख, घार, हिस्तान, देवा, भुरुङतातोपानी, नारच्याङ, दाना गाविसको केन्द्र पोखरेबगर तोकिएको छ ।

2 COMMENTS

  1. जनताले सुविधा सरल रूपमा प्राप्त गर्न सकोस भनेर हालको जिल्लालाइ सानो रूप दिएर नगर/गांउपालीका को अवधारणा ल्याएको हो । तर स्थानिय निकाय पुनर्संरचना आयोगले रघुगंगा गांउपालीकाको केन्द्रले त उल्टो पो गरिदीयो । पहीला जिल्ला सदरमुकाम जान १ घन्टा लाग्थ्यो अव गांउपालीका केन्द्र पुग्न १ दीन लाग्ने भयो । अनि यो कुरा उच्च स्तरीय समितीका सदस्य भनाउंदा मंंत्रीहरूलाइ राख्दा कुरा नवुझे जस्तो गर्छन वा । अनि आन्दोलन नगरेर भजन गाएर वस्ने त !

  2. खासमा यो धौलागिरी गाउपलिका अन्तर्गत मराङ्ग र मल्कबाङ्गलाई पनि ठुलो असर सहित गाउपलिकाको संरचना अगाडी सारिएको छ मराङ्ग र मल्कबाङ्गका हामी जनताहरुको मर्म बुझिदिने भए बरु ताकम, मुना न भई दर्बाङ्ग केन्द्रमा समाबेश गर्न सके हामीले पाउने सेवा – सुबिधा सरल हुने थियो, होइन हो यस्तो भयो उस्तो भयो भौगालिक माध्यम नै छैन गाह्रो हुने भयो भन्दै गर्दा मापदण्ड पुर्याउनु पर्छ भन्छन साच्चिकै भन्ने हो भने त हामी मराङ्ग र मल्कबाङ्ग जनताहरुलाई खाए खा नखाए घिच जस्तो भएको छ तालाबन्दी गर्नेहरुलाई के थाहा?

Comments are closed.