गाउँपालिकाको विवाद साम्य पार्न राजनीतिक दलको माग

0

म्याग्दीका दुई गाउँपालिकको अस्थायी केन्द्रको विवादलाई स्थानीय निकायको निर्वाचन अगाडी नै समाधान गर्न जिल्लामा क्रियाशिल राजनीतिक दलले माग गरेका छन् । रघुगंगा र धौलागिरि गाउँपालिकाको विवादलाई लिएर काठमाण्डौमा पुगेको डेलिगेसन टोलीले स्थानीय विकास मन्त्री हितराज पाण्डे सहित कार्यदलका सदस्यहरुलाई जिल्लामा देखिएको समस्याका बारेमा जानकारी गराएका थिए ।

पुर्वराज्यमन्त्री एवम् सांसद नरदेवी पुन, सांसद रेशम बहादृर बानियाँ, नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजा, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा, नेकपा माओवादी पार्टी विप्लवका जिल्ला नेता फिल्टर लगाएतको आइतबार जिल्लामा भइरहेको अस्थायी केन्द्र तोकिएको विरोधका गतिविधि तथा स्थानीय निकायको निर्वाचनमा पर्ने समस्याका बारेमा ध्यानर्कषण गराएको सांसद रेशमबहादुर बानियाँले बताए ।

‘दुईवटा गाउँपालिकाका सबै गाविसबासीले जित्ने गरी निर्णय गर्न अनुरोध गरेका छौ । समस्या समाधानका लागि सोमबार समेत भेटघाट हुन्छ’ सांसद बानियाँले भने । टोलीले स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई जिल्लाको भौगोलिक अवस्था, जिल्लास्तरमा भइरहेका आन्दोलन, गाविसस्तरमा जनताविच देखिएको विवाद लगाएतका समस्याका बारेमा जानकारी गराएको थियो । सोही अवसरमा कार्यदलमा रहेका मन्त्री दिपक बोहोरा र नविन्द्रराज जोशी टोलीले भेटेको थियो ।

स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलको सहमतिमा धौलागिरि गाउँपालिका र रघुगंगा गाउँपालिकाको केन्द्रमा दुईवटा गाविसलाई प्रस्ताव गरी आयोगलाई अन्तिम निर्णय गर्ने अनुरोध गरेको थियो । डेलिगेसन टोलीलाई मन्त्रीले जिल्लामै निर्णय गर्दा त्रुटि भएको भन्दै तत्काल समस्या समाधान गर्न नसकिने प्रतिक्रिया दिएको समेत स्रोतले बताएको छ । धौलागिरि गाउँपालिकाको केन्द्रमा ताकम र मुना गाविसलाई र रघुगंगा गाउँपालिकाको केन्द्रमा पिप्ले गाविसको रघुगंगा गाउँपालिका र पाखापानी प्रस्ताव गरिएपछि धौलागिरि गाउँपालिकाको ताकम र रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला आन्दोलित छन् ।