जिल्लामा दुई गाउँपालिकाको विवाद ब्यवस्थापन नभए स्थानीय निकायको निर्वाचन असम्भव जस्तै देखिएको छ ।स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलको सहमतिमा धौलागिरि गाउँपालिका र रघुगंगा गाउँपालिकाको केन्द्रमा दुईवटा गाविसलाई प्रस्ताव गरी आयोगलाई अन्तिम निर्णय गर्ने अनुरोध गरेपछि चर्किएको विवादले जिल्लामा निर्वाचनको वातावरण बन्न सकेको छैन ।धौलागिरि गाउँपालिकाको केन्द्रमा ताकम र मुना गाविसलाई र रघुगंगा गाउँपालिकाको केन्द्रमा पिप्ले गाविसको रघुगंगा गाउँपालिका र पाखापानी प्रस्ताव गरिएको थियो ।

आयोगले मुना र पाखापानीलाई अस्थायी केन्द्रको प्रस्ताव गदैं प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि पटकपटक गरिएका आन्दोलनको सुनुवाई नहुदाँ अस्थायी केन्द्रको प्रस्तावमा असन्तुष्ट गाविसले चर्को आन्दोलन गरेका छन् । रघु्गंगा गाउँपालिका अन्र्तरगत पर्ने पिप्ले, भगवती, बेगखोला,दग्नाम र चिमखोला र धौलागिरि गाउँपालिकाको ताकम गाविसका बासिन्दाले एक सातादेखी जिविस म्याग्दीमा तालाबन्दी सहित बेनी–जोमसोम सडक चारदिन अवरुद्ध, सदरमुकाम बेनीमा विशाल जनप्रर्दशन, गाविसमा हुने सरकारी काम ठप्प, राजनीतिक गतिविधिलाई गाउँ प्रवेशमा रोक लगाएतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।निर्वाचन कार्यालयमा समेत तालबान्दी गरेर आन्दोलनरत पक्षले निर्वाचन रोक्ने सन्देश दिएका छन् ।

त्यस्तै धौलागिरि गाउँपालिका अन्र्तरगत ताकम गाविसका बासिन्दाले केन्द्र प्रस्ताव गरिएको मुना, लुलाङ, गुर्जा र मुदी गाविसबासीले आवतजावत गर्ने सडक सञ्जाल अवरुद्ध सहित नाकाबन्दी गरेर विरोध जनाएका छन् ।‘माग सम्बोधन नभए स्थानीय निकायको निर्वाचन बहिस्कार गर्ने निणर्य भइसकेको छ । गाउँपालिकाका ८० प्रतिशत जनताले स्थानीय निकायको निर्वाचन असफल बनाउनेछन्’ आन्दोलनका अगुवा एवम् नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीले भने । प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा लगायत मापदण्डका आधारहरू तय गरिएपनि हचुवाको भरमा अब्यवहारिक निर्णय गरिएकाले बाध्य भएर आन्दोलनमा होमिनुपरेको बताए ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा राख्ने माग पुरा नभए राजनीतिक दल परित्याग गर्ने चेतावनी समेत आन्दोलनरत पक्षले दिएका छन् । दुईवटा गाउँपालिका आन्दोलित भएपछि बैशाख ३१ गते प्रस्ताव गरिएको स्थानीय निकायको निर्वाचनको माहोल बनाउने तर्फ कुनैपनि दलले तयारी गरेका छैनन् । पक्ष र विपक्षमा रहेका गाविस विच मुडभेडको सम्भावना देखिएको अवस्थामा विवादका विच निर्वाचनको तयारीमा जुट्दा चुनावी नतिजामा असर गर्ने भन्दै विवादलाई समाधान गरेर निर्वाचनमा होमिने दलका नेताहरूको भनाई छ। ‘विवादित गाविसमा चुनावी आमसभाको सम्भावना नै छैन् । आक्रोशित जनताबाट जस्तोसुकै कदम चाल्न सक्छन्’ जिल्लास्थित एक नेताले भने।

गाउँपालिकाको पक्ष र विपक्षमा भइरहेको आन्दोलनका कारण दल समेत अलमलमा परेका छन् । ‘हचुवाको भरमा केन्द्र तोकिएको छ, निर्वाचन मात्रै होईन राज्यको उपस्थिीति पनि सुन्य बनाउने गरी अभियान सञ्चलन गदैंछौ’ धौलागिरि गाउँपालिका संघर्ष समितिका सदस्य गोपाल आचार्यले भने । आयोगले भुगोल भन्दा पनि गुगलबाट हेरेर केन्द्र तोकेकाले खाद्य साम्रागी आपुर्ती समेत रोक्ने गरी आन्दोलन सुरु गरिएको बताए । यसैविच अस्थायी केन्द्रको पक्षमा रहेका गाविसबासीले समेत निर्णय सच्चाइए आन्दोलनको घोषणा गदैं राजनीतिक दललाई गाउँ प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् । धौलागिरि गाउँपालिका अस्थायी केन्द्र मुनालाई कायम राख्ने अभियानका संयोजक रेशम पुनले सामान्य दवावका आधारमा केन्द्र हेरफेर भए जनता विष्फोट हुने बताए ।

‘गाउँपालिकाको केन्द्रका लागि जग्गा समेत निशुल्क ब्यवस्थापन गर्न तयार छौं । बहुमत जनता मुनामा गाउँपालिका बनाउनुपर्ने पक्षमा छन्’ पुनले बेनीअनलाइनलाई भने। स्थानीय निकायको निर्वाचनबाट चुनिएका प्रतिनिधिले समेत मुनामै केन्द्र बनाउन उनले दावी गरे । गत कात्तिम १९ गते शुक्रबार स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले संख्या र सिमाना निर्धारण सम्बन्धि गोष्ठीमा एक नगरपालिका र ५ गाउँपालिका मध्ये तीनवटा गाउँपालिकाको केन्द्रमा सहमति भएपनि अन्यमा विवाद उत्पन्न भएपछि अन्तिम निर्णय गर्ने अधिकार आयोगको भन्दै जिल्लाका सबै राजनीतिक दलले सहमति जनाएका थिए ।

म्याग्दीबाट बेनी नगरपालिकामा पात्लेखेत र भकिम्ली गाविसलाई समावेश गदैं मंगला गाउँपालिकामा बावियाचौर, कुहुँ,,बरंजा,अर्मन गाविस, मंगला गाउँपालिकामा दरवाङ, निस्कोट, रूम,ओखरबोट, बिम र देविस्थान गाविस, धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविस, रघुगंगा गाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविस र राम्चे, शिख, घार, हिस्तान, देवा, भुरुङतातोपानी, नारच्याङ, दाना गाविसको केन्द्र पोखरेबगर तोकिएको छ ।