८६ वर्षको उमेरमा सगरमाथा शिखर चुम्ने उत्साह

0

छयासी वर्षका बृद्धले सगरमाथा चढ्ने रे’ सुन्दा पनि पत्यार नलाग्न सक्छ । तर म्याग्दीका मिनबहादुर शेरचनले भने सुन्दै पत्याउन नसक्ने चुनौति स्वीकार्दै ८६ बर्षको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गर्नुभएको छ । ‘म जे बोल्छु त्यो गरेरै छाड्छु, सगरमाथा चढ्ने मेरो धोको पुरा गरेरै छाड्छु’ सोमबार काठमाडौंमा पत्रकारसँग उहाँले भन्नुभयो, ‘मलाई त ८६ बर्ष पुगे जस्तो पनि लाग्दैन, बरु कसैले किर्ते गरेर मलाई ८६ बर्ष पु¥याए जस्तो पो लाग्दैछ त’ ।

पत्रकारहरुसँग उत्साहित देखिएका शेरचनले यसो भनिरहँदा उहाँमा यो उमेरमा पनि सगरमाथा आरोहण गर्न सकिन्छ भन्ने आत्मविश्वास देखिन्थ्यो ।आफूसँग इश्वरको कृपा भएको भन्दै उहाँले सगरमाथामा चढेर मात्रै मर्नेमा आफू ढुक्क रहेको बताउनुभयो । ८६ वर्षको उमेरमा सगरमाथा चढ्दा विश्वाशान्ति, मानव कल्याण र पृथ्वीको रक्षाको उद्देश्य रहेको पनि उहाँले जानकारी दिनुभयो ।

सोच पवित्र राखेमा शरिर कहिले पनि अस्वस्थ नहुने र बुढ्यौलीले पनि नछुने शेरचनले बताउनुभयो । ‘सगरमाथा फु मन्त्र गरेर चढिन्न आत्मविश्वासले हुने कुरा हो, म ढुक्क छु मरेर होइन, सगरमाथा आरोहण गरेर तपाईहरुलाई यसै गरेर अनुभव सुनाउने छु ।’ उहाँले भन्नुभयो ।उहाँले विश्व कीर्तिमान लागि अब अप्रिलको पहिलो हप्ता सगरमाथाको यात्रा सुरु गर्ने घोषणा गर्नुभयो । शेरचन सगरमाथा आरोहणमा जान लाग्नु भएको पहिलो अवसर हैन । उहाँले सन् २००८ मा ७६ बर्षको उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राख्नुभएको थियो ।

तर पछि जापानका नागरिकले उहाँको कीर्तिमान तोडेका थिए । शेरचनले जापानी नागरिकले खोसेको आफ्नो कीर्तिमान फिर्ता ल्याउन सन् २०१५ मा सगरमाथा आरोहणको प्रयास गर्नुभएको थियो । तर भूकम्पका कारण अरु आरोहीजस्तै उहाँ आरोहण त्यागेर आधार शिविरबाटै फर्कनु भएको थियो ।
शेरचनको सगरमाथा आरोहणको लागि एक करोड रुपैयाँ भन्दा धेरै रकम खर्च हुने अनुमान गरिएको छ । मिनबहादुर शेरचन सगरमाथा आरोहण अभियानले उहाँलाई सहजीकरण गरेको छ । यस्तै म्याग्दी प्रवासी नेपाली संघ, बेलायत गैर आवासीय नेपाली संघ, बेलायत थकाली समाज, मगर समाज बेलायतलगायतका संस्थाले पनि उहाँलाई आर्थिक सहयोग गरेका छन् । ujyaaloonline.com