पत्रकारिता छोडेर राजनीतिमा होमिएका रविन्द्र मिश्रले खोलेको राजनीतिक दल साझा पार्टीको केन्द्रिय कमिटीमा म्याग्दी कुहुँ–७ भर्जुलाका डा. उमेद पुन समेत छन् । कृषि विज्ञ पुन पार्टीको गठन र विस्तारमा समेत सक्रिय छन् । कुहुँमा जन्मिएर केही महिना थाईवाङ निमावीमा अध्ययन गरेका पुन कृषि क्षेत्रलाई आधुनिकरण र ब्यवसायीक बनाउने अभियानमा सक्रिय थिए । बरिष्ठ पत्रकार मिश्रले पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेपछि दलको घोषण सहित महत्वपुर्ण कामको जिम्मेबारी पाएका पुनले अहिले टोल, जिल्ला हुदै प्रवाससम्म पार्टीले घोषणा गरेका गतिविधिको जिम्मेबारी लिइरहेका छन् ।

भारतीय सेनमा रहेका पिता संगै भारतमा अध्ययन गरेका पुन कृषि क्षेत्रबाट आर्थिक अवस्था कमजोर भएका नेपालीलाई आत्मनिर्भर बनाउँदै ब्यवसायीक बनाउन देशका विभिन्न जिल्लामा समेत सक्रिय छन् । उनले उत्तरी म्याग्दीमा समेत आफुँ आवद्ध रहेको संस्था मार्फत काम गरेका छन् भने जन्मगाउँ भर्जुला, थाईवाङका महिलालाई समेत फुल खेती सहित ब्यवसायीक कृषिमा आवश्यक सीप हस्तान्तरण गरिरहेका छन् ।

‘मैले जानेको सीपलाई अव पार्टीको अभियानमा खर्च गर्छु ।नेपालीलाई आत्मनिर्भर बनाउन राजनीतिक आवश्यकता छ’ पुनले बेनीअनलाइनसंगको कुराकानीमा भने । उनले विगतमा आवद्ध रहेका संघसंस्थाबाट समेत राजिनामा दिएर पार्टीको अभियानमा ब्यस्त रहेको समेत बताए । थोरै लगानीमा धेरै आम्दानी हुने क्षेत्रमा किसानलाई आर्कषित गर्ने गरेका डा. पुनले गृहजिल्लामा समेत पार्टीको अभियानमार्फत उपस्थिति हुने बताए । साझा पार्टीमा विभिन्न क्षेत्रमा विज्ञहरुको संलग्नता रहेको छ । डा. पुनले संगठन तथा आफ्नो विज्ञताका आधारमा जिम्मेबारी पाएका छन् । साझा पार्टीले साामाजिक सञ्जालमार्फत सञ्चालन गरेको अभियानमा समेत पार्टीले उनलाई महत्वपुर्ण जिम्मेबारी दिएको छ।

म्याग्दीमा कस्तो प्रभाव पर्छ ?
कृषि क्षेत्रका सिमित विज्ञ भित्र पर्ने डा. पुन नयाँ पार्टीमा प्रवेश गरेपछि म्याग्दीमा उनलाई चिन्ने धेरैले चासो ब्यक्त गरेका छन् । विषेशगरी उत्तरी म्याग्दी र पश्चिम क्षेत्रमा उनको प्रभाव राम्रो छ । मगर समुदायमा लोकप्रिय रहेका पुनले अहिलेसम्म कृषि क्षेत्रबाट आत्मनिर्भर बनाउन कम लगानीमा धेरै आम्दानी हुने फलफुल सहित आधुनिक कृषिको सिप सिकाउँदै हिड्ने गरेका थिए ।

राजनीतिमा होमिएपछि त्यसको प्रभाव म्याग्दीमा कस्तो पर्ला भन्ने अहिले नै आकलन गर्न नसकिएपनि मगर समुदायमा उनको राजनीतिमा प्रवेशले केही प्रभाव भने निश्चित पार्ने छ । जिल्ला देखी केन्द्रसम्म जातियताको प्रभाव फैलिरहेको अवस्थामा उनको जिल्लामा उपस्थिीतिले समेत त्यसलाई सघाउने सम्भावना देखिन्छ । म्याग्दीमा पछिल्लो चारदशक यताको राजनीतिक गतिविधि र मगर समुदायको बाहुल्यता रहेको जिल्ला भएकाले पनि राजनीतिमा पुनको उपस्थितिलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

विज्ञापन