पश्चिम म्याग्दीको ताकमबासीले गाउँपालिकाको केन्द्र छनौट मापदण्ड विपरित भएको भन्दै सुरु गरेको आन्दोलन स्थगित भएको छ । धौलागिरि गाउँपालिकाको अस्थायी केन्द्र मुना गाविसलाई तोकिएपछि चरणबद्ध आन्दोलनमा होमिएका ताकमबासीले एकसाता देखी यातायातका साधन बन्द गदैं चर्को आन्दोलन सुरु गरेका थिए । आन्दोलनका कारण ताकम देखी माथिल्लो क्षेत्रमा पर्ने मुना, मुदी, लुलाङ, गुर्जा लगाएत छिमेकी जिल्ला रुकुमका केही गाविसलाई आवतजावतमा सकस भएको थियो ।

बुधबार धौलागिरि गाउँपालिका ताकम केन्द्र संघर्ष समितिका संयोजक क्याप्टेन मन बहादुर भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तीमा मापदण्ड विपरित हचुवाको भरमा केन्द्र तोकिएको भन्दै गाउँपालिकाको केन्द्र ताकम बनाउने आन्दोलन जारी रहेपनि विद्यार्थीको भविस्यलाई मध्यनजर गरेर संघर्षका कार्यक्रममलाई केहीदिनका लागि स्थगित गरिएको उल्लेख छ ।

सडक बन्द सहित गाविसका विभिन्न स्थानमा पुगेर् आन्दोलन गरिरहेका ताकमबासीले जिल्लाको विवादलाई लिएर काठमाण्डौमा पुगेका म्याग्दीका राजनीतिक दलका प्रतिनिधिलाई गाउँपालिकाको केन्द्रका पक्षमा आवाज उठाएकाले राजपत्रमा केन्द्र परिमार्जित भएर आउनेमा आशाबादी रहेको यूवा गोपाल आचार्यले बताए । उनले राजपत्रमा अस्थायी केन्द्रबाट हटाएर हरेक हिसावले उपयुक्त ताकमलाई स्थायी केन्द्र उल्लेख नभए शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।

अस्थायी केन्द्र निर्वाचन प्रयोजनका लागि मात्रै गाउँपालिकाको केन्द्र निर्धारण गरिएका बताउँदै आएपनि ताकमबासीले त्यसलाई अस्वीकार गदैं आइरहेका छन् । ताकमबासीले माथिल्लो क्षेत्रमा जनताको सुविधाका लागि बाटो बन्द गरेको भन्दै आलोचना समेत भएको थियो । मुदा, मुदी, लुलाङ र गुर्जा गाविसका बासिन्दाले जनताको सुविधाका लागि विस्तार गरिएको सडक खुलाउन प्रशासन समक्ष माग समेत गरेका थिए । यता रघुंगगा गाउँपालिकाको केन्द्र मौवाफाँट बनाउनुपर्छ भन्ने माग गदैं आन्दोलनमा होमिएका गाविसले समेत तत्कालका लागि आन्दोलन स्थगित गरेर काठमाण्डौमा केन्द्र सच्चाउन दवाव दिइरहेका छन् ।

म्याग्दीबाट बेनी नगरपालिकामा पात्लेखेत र भकिम्ली गाविसलाई समावेश गदैं मंगला गाउँपालिकामा बावियाचौर, कुहुँ,,बरंजा,अर्मन गाविस, मालिका गाउँपालिकामा दरवाङ, निस्कोट, रूम, ओखरबोट, बिम र देविस्थान गाविस, धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविस, रघुगंगा गाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविस र राम्चे, शिख, घार, हिस्तान, देवा, भुरुङतातोपानी, नारच्याङ, दाना गाविसको केन्द्र पोखरेबगर तोकिएको छ ।