स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले घोषणा गरेको छ । सरकारले शुक्रबार प्रकाशित गरेको राजपत्रमा गाउँपालिकाका बहुसंख्यक जनतालाई सास्ती दिनेगरि रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानी तोकीएको विरोधमा संघर्ष समितिले निर्वाचन बहिस्कार गर्ने घोषण सहित आन्दोलित भएका गाउँपालिका अन्र्तरगत पिप्ले, भगवती, बेगखोला गाविसले निर्वाचन सम्बन्धित कुनैपनि काम अगाडी बढाउन नदिने चेतावनी दिएका छन् ।

संघर्ष समितिले पिप्ले, भगवती, बेगखोला, दगनाम, चिमखोला लगायतका गाविसका नागरिकलाई अपायक पर्ने गरि गाउँपालिकाको केन्द्र तोकिनु सरकार र निर्वाचन आयोगको गम्भिर लापरबाही भएको ठहर गरि निर्वाचन बहिष्कार आन्दोलनलाई आगाडि बढाईएको संघर्ष समितिका अगुवा बालकृष्ण सुवेदीले बेनीअनलाइनलाई बताए । उनले पिप्ले, भगवती, र बेगखोला गाविसले निर्वाचन बहिस्कार गर्ने घोषणा गरिसकेको अवस्थामा दग्नाम र चिमखोलाले समेत छिट्टै बहिस्कारको निर्णय गर्ने समेत बताए । उनले बहिस्कार सहितको होडिङ बोर्ड समेत राखिने छ ।

कति छन् रघुगंगा गाउँपालिकामा मतदाता ?

रघुगंगा भेगका पाँच बढी गाविसका नागरिकलाई प्रशासनिक सुगमता र बस्ती विकास र विकास निर्माण लगायतको दृष्टिकोणमा मौवाफाँटलाई केन्द्र बनाउनुपर्ने माग गर्दै आन्दोलनमा होमिएका साविकका गाविसका अगुवाको भनाईमा ८० प्रतिशत जनतालाई उपेक्षा गरेर तोकिएको केन्द्रको निर्वाचन बहिस्कार नै अन्तिम विकल्प भएको बताए । रघुगंगा गाउँपालिका अन्र्तरगत पर्ने साविकको गाविसमा रहेको मतदाताको प्रारम्भीक विवरण यसप्रकार छ । साविकको पिप्ले गाविसमा २८४३, भगवती २३९८, बेगखोला ११९९, दग्नाम ८३९, चिमखोला ९६२, कुईनेमंगले ९४६, पाखापानी १६११, झिँ ८१७ रहेको छ ।

अहिले बहिस्कारको घोषणा गरेका पिप्ले, भगवती र बेगखोलामा ६ हजार ४४० मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयमा रहेको मतदाता विवरण प्रारम्भीक हो । यसलाई निर्वाचन कार्यालयले प्रमाणित गरी अन्य जिल्लाबाट उल्लेख गरिएको भए हेरफेर गर्नेछ । गाउँपालिकाको तीनवटा वडाबाट निर्वाचन बहिस्कारको बारेमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीलाई जानकारी सहित ज्ञापनपत्र समेत बुझाइएको छ ।