म्याग्दीमा स्थानीय तहको कार्यान्वयः लेटरप्याड, वोर्ड र छाप परिवर्तन

0

धु्रबसागर शर्मा
नेपाल सरकारले शुक्रवारदेखि पुरानो संरचनाअन्तर्गत स्थानीय निकाय भङ्ग गरेसँगै देशमा सङ्घीयता कार्यान्वयन भएको छ ।यसअघिको जिल्ला विकास समिति म्याग्दी जिल्ला समन्वय समितिमा प्रवेश गरेको छ । जिल्ला समन्वय समितिले लेटरप्याड, वोर्ड र छाप परिवर्तन गरिसकेको जिल्ला समन्वय समिति म्याग्दीका सूचना अधिकृत पदमवहादुर भण्डारीले जानकारी दिनुभयो । भण्डारीले भन्नुभयोे, ‘शुक्रवारदेखि नै म्याग्दीमा सङ्घीयता कार्यान्वयन भएको छ ।’

यसअघिका स्थानीय निकायअन्तर्गत म्याग्दी जिल्लाका ३१ गाविस र १ नगरपालिका गाभेर ६ ओटा स्थानीय तहको निर्माण गरिएको छ । जसअन्तर्गत १ ओटा नगरपालिका र ५ ओटा गाउँपालिका बनेका छन् ।जिल्लामा बेनी नगरपालिका र ५ ओटा गाउँपालिकाअन्तर्गत मंगला, मालिका,धौलागिरि,रघुगंगा र अन्नपूर्ण गाउँपालिका रहेका छन् । अव गाउँपालिकामा कार्यकारी अधिकृत र वडा कार्यालयहरुमा यसअघिका गाविस सचिव रहनेछन् ।

गाउँ पालिकामा कार्यकारी अधिकृतको नेतृत्वमा ९ जना कर्मचारी खटिने भएका छन् । उपसचिव स्तरका कार्यकारी अधिकृतको मातहतमा एक÷एकजना सिभिल ईन्जिनियर,कम्प्यूटर इन्जिनियर,नायव सुव्वा,लेखापाल, २÷२ जना सव ईन्जिनियर र कार्यालय सहयोगी रहने भएका छन् ।स्थानीय तहका वडा कार्यालयहरुले नयाँ संरचना अनुसारको योजना,बजेट तर्जुमा गर्नेछन् भने जिल्ला समन्वय समितिमा परिणत भएको साविकको जिल्ला विकास समितिले संचालन गरेका योजनाहरु जिल्ला समन्वय समितिमार्फत नै संचालन हुनेभएका छन् । तर, रघुगंगा गाउँपालिकामा भने गाउँपालिकाको केन्द्र पाखापानी तोकिए पछि समस्या उत्पन्न भएको छ ।

रघुगंगा गाउँ पालिकाको केन्द्र मौवाफाँटलाई तोकिनुपर्ने माग गर्दै आएका सो क्षेत्रका वासिन्दाहरुले नागरिक आन्दोलन संघर्ष समिति नै गठन गरेर बिरोधमा उत्रिएका छन् । नागरिक आन्दोलन संघर्ष समिलिे पिप्ले,बेगखोला,दग्नाम,चिमखोला लगाएतका साविकको गाविसका बासिन्दालाई अपाएक पर्नेगरी गाउँ पालिकाको केन्द्र तोकिनु सरकार र निर्वाचन आयोगको गम्भिर लापरवाही भएको ठहर गरी निर्वाचन वहिष्कारको घोषणा समेत गरिसकेको छ । त्यसैगरी रघुगंगा गाउँपालिका क्षेत्रमा गाउँपालिकाको कामकाज गर्नेगरी कार्यकारी अधिकृत लगाएतका कर्मचारी नखटिन÷नखटाउन र निर्वाचनका कुनै पनि गतिविधि संचालन नगर्न सम्वन्धित निकायलाई आग्रह समेत गरेको छ । रासस