विश्वशान्ती र मानवजातीको हितको कामना गदैं सगरमाथा चढ्ने अन्तिम तयारीमा जुटेका ८६ वर्षीय मीनबहादुर शेरचनलाई मंगलबार म्याग्दीमा स्वागत गरिएको छ । आरोहणको तयारी स्वरुप केही दिनका लागि हिमाली जिल्ला मुस्ताङ तर्फ जाने क्रममा म्याग्दी उद्योग वाणिज्य संघले गरेको स्वागत तथा सम्मान कार्यक्रममा म्याग्देलीका गौरव, शाहसिक, इमान्दार र विश्वका जेष्ठ नागरिकहरुको प्रेरणाका श्रोत शेरचनको सफलतापूर्वक आरोहणका लागि म्याग्देलीले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्यले विश्वमा म्याग्दी जिल्ला र म्याग्देलीको शीर उच्च बनाउने शेरचनलाई स्वागत गर्ने अवसर पाउँदा उत्साहित भएको बताए । उनले जिल्लालाई विश्वसामु चिनाउने ब्यक्तित्वहरु जिल्लाकै अभिभावक भएको बताउँदै विगतमा समेत सम्मानको प्रयास गरेको समेत बताए । सोही अवसरमा शेरचनको आरोहणका लागि नेपालमा आर्थिक संकलन अभियानका संयोजक जीत बहादुर घर्ती मगरले आरोहण सफल बनाउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट आर्थिक सहयोगको आवश्यकता रहेको बताए ।

उनले आरोहणको समय थोरै भएकाले करिव १ करोड आर्थिक जुटाउनुपर्ने अवस्था रहेकाले गृहजिल्ला म्याग्दी सहित नेपालभित्र समेत आर्थिक संकलन अभियान सञ्चालन गरिएको बताए । सोही अवसरमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले जेष्ठ नागरिकले विश्वको अग्लो हिमालको आरोहण मानवजातीकै लागि प्रेरणा बन्ने बताए ।

सन् २००८ मा ७८ वर्षको उमेरमा सगरमाथा चढेर सबैभन्दा पाको उमेरमा सगरमाथा चढेको विश्व रेकर्ड बनाएका शेरचन ले पर्वतारोहणको तयारीका लागि शारीरिक रुपमा तन्दुरुस्त रहन उनले पटक–पटक नेपालको पूर्व–पश्चिम, उत्तर–दक्षिण पदयात्रा, धौलागिरि हिमालको ५७ सय मिटर उचाईसम्म आरोहण, नियमित ब्यायम, पर्वतारोही लाई अभ्यास चाहिने भएकाले २० बर्ष देखी नियमित अभ्यास समेत गरिरहेका छन् । सन् २०१३ र २०१५ मा सगरमाथ आरोहणको प्रयास गरेपनि मौषममा आएको खरावी र महाविनाशाकारी भूकम्पका कारण आधार शिविरबाटै फर्किएका थिए । जेष्ठ नागरिक शेरचनले यसपटक आरोहण गरेर फर्किने बताए । ‘धेरै अनुभव र योजनाहरु छन ।

आरोहण गरेर फर्किएपछि सुनाउँछु’ शेरचनले भने । उनले सफलतापूर्वक आरोहण गरेर फर्किएपछि आफ्ना पुराना योजनाहरु समेत कार्यान्वयन गर्ने बताए । शेरचनको आरोणका लागि मोना यूके सहित विभिन्न संघसंस्थाले आर्थिक संकलन अभियान सञ्चालन गरिरहेका छन । शेरचनको सबैभन्दा पाको उमेरमा सगरमाथा आरोहणको विश्व रेकर्ड सन् २०१३ मा ८० वर्षीय जापानी पर्वतारोही युचियो मिउराले तोडेका थिए । सो रेकर्ड फर्काउन शेरचनले दुईपटक गरेको प्रयास मौषम र प्राकृत्तिक विपत्तीले साथ नदिएपनि यसपटक आरोहण गरेरै फर्कने तयारीका साथ कडा अभ्यास गरिरहेका छन् । यसैविच आरोणका म्याग्दीमा भएको अभियानमा म्याग्दी उद्योग वाणिज्य संघका १० हजार सहयोग गरेका छन् ।