म्याग्दीको कुहुँमा रहेको दिपशिखा मावीले आर्थिक स्रोत जुटाउन लाहुरे स्वागत अभियान सञ्चालन गरेको हो । प्रवासबाट गाउँमा आउने विद्यालयका पुर्व विद्यार्थी र अभिभावकहरुलाई नाचगान गरेर स्वागत गरी विद्यालयले एक वर्षको अवधिमा करिब १५ लाख रुपैया जुटाएको छ

विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री र निजी स्रोतका शिक्षकको तलबभत्ताको व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन यस्तो अभियान चलाएको स्थानीय एकजित रोकाले जानकारी दिनुभयो । अभियानका क्रममा एक जना व्यक्तिले एक हजार देखि दुई लाख रुपैया सम्म सहयोग गरेका छन् । हालै आयोजित स्वागत कार्यक्रममा घरबिदामा आएका भारतीय सैनीक ज्ञानबहादुर र उहाँकी श्रीमती निर्मला पुनले ५० हजार पाँच रुपैया सहयोग गर्नुभएको छ ।

यसैगरी पोर्चुगलमा रहेका पूर्णबहादुर राम्जालीले ३० हजार रुपैया मूल्य बराबरको १ थान प्रिन्टर, योगेन्द्र शेरचनले पाँच हजार १००, चन्द्र शेरपुञ्जाले पाँच हजार १००, चन्द्रबहादुर श्रीपालीले तिन हजार १०० र सिजन पुनले तिन हजार रुपैया सहयोग गर्नुभएको छ । सहयोगदाताहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डेगबहादुर राम्जाली, भुपु प्रअ भद्रबहादुर घर्ती, शिक्षक मनिराम अधिकारी लगायतले सम्मान गर्नुभएको थियो ।