जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लामा रहेका सरकारी कार्यालयको अनुगमन गर्ने क्रममा विभिन्न कार्यालयका ५६ जना कर्मचारी बिना जानकारी कार्यालय उपस्थित नभएको पाइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताएका छन् । सरकारी कार्यालयमा रहेका कर्मचारीको नियमितता र सेवा प्रवाहलाई सुधार गर्न सचेत बनाउने उद्देश्यले प्रशासन कार्यालयले थालेको हाजीरी अनुगमनको क्रममा ठुलो संख्यामा कर्मचारी अनुपस्थित भएको भेटिएको प्रजिअ पौडेलले बताए ।

मंगलबार साँझ पत्रकार भेटघाटको क्रममा बिना जानकारी कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई सचेत बनाउनुका साथै स्पष्टीकरण सोध्ने तयारी गरिएको बताए । अनुगमनको क्रममा अनुपस्थित हुने कर्मचारीहरु मध्ये जिल्ला जनस्वास्थ्य कार्यालयका ११ जना, प्राबिधिक कार्यालयका आठ, राहुघाट जलविद्युत आयोजनाका १२, आर्युर्वेद स्वास्थ्यमा ३, बनमा ४, कृषि विकासका २, सिचाई विकासका २, नापीका ४, पशु सेवाका ४, सिचाई विकास सब डिभिजनका २, जिल्ला समन्वय समिति , कोलेनीका, खानेपानी, हुलाक, महिला तथा बालबालिका कार्यालयका ११ जना कर्मचारी उनुपस्थित रहेको पाईएको प्रशासनले जनाएको छ ।

अनुगमनमा खटिएका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको टोलीलाई प्रजिअ पौडेलले समेत अनुगमन गरेका थिए । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सरकारी कार्यालयका सवारी साधनलाई मर्मत सम्भार गरेर तयारी अवस्थामा राख्न समेत निर्देशन दिएको छ । प्रजिअ आचार्यले निर्वाचनको वातावरण सृजना गर्न सबै सरोकारवालाहरुलाई आग्रह समेत गरिएको छ । जिल्लामा केही सरकारी कार्यालयका प्रमुखहरुले विना जानकारी जिल्ला बाहिर जाने, तथा कर्मचारीहरु समेत नियमित कार्यालयमा नबस्ने समस्या रहेको छ ।