बेलायतको सर्वोच्च यूद्ध पदक भिक्टोरिया क्रस विजेता एवम् समाजसेवी तुल बहादुर पुनको सम्झनामा बेगखोलाबासीले उनको समाधिस्थलमै पुगेर पुष्पगुच्छा अर्पण गरेका छन् । गोर्खा आन्दोलनका महानायकको रुपमा समेत चिनिने भिसी पुनको परिवारले आफ्नै जग्गामा बनाएको समाधिस्थलमा बादुक, तिप्ल्याङ लगाएत आसपासका क्षेत्रबाट आएका स्थानीयले पुख्यौली नाच, नौमति वाजा सहित समाधिस्थलमा पुगेर पुष्प अर्पणका साथै भिसी पुनको योगदानको स्मरण गरिएको स्थानीय बेग बहादुर पुर्जाले बताए ।

‘उहाँको सक्रियताले बेगखोलामा धेरै विकासका काम भएका थिए । हामीले एकदिन मात्र नभई हरेक दिन सम्झन्छौ’ पुर्जाले भने । बेगखोलामा शिक्षा, स्वास्थ्य, खानेपानी सहित विभिन्न भौतिक पूर्वाधारसंगै स्वर्गीय पुनको परिवारको सक्रियतामा ब्यक्तिगत रुपमै लाखौंको सहयोग गाउँमा खर्च गरिएको समेत पुर्जाले बताए । घरायसी कामले गाउँमा आएका भिसी पुनका परिवारसहित स्वर्गीय पुन र जेठी श्रीमति धनरुपी तिलिजाको समाधिस्थलमा पुगेर सम्झिएका थिए ।

‘उहाँ हाम्रो लागी भगवानजस्तै हो । गाउँमा धेरै सामाजिक कार्यको नेतृत्व गर्नुभएको थियो’ कालिका आधारभुत विद्यालय तिप्लाङका संस्थापक प्रअ टेक बहादुर गुर्बजाले भने । कालिका र बादुकमा रहेका श्रीकृष्ण विद्यालयका संस्थापक समेत रहेका भिसी पुनको योगदान उत्तरी म्याग्दीका विभिन्न गाउँहरुमा खानेपानी, विद्यालय भवन सहित अन्य भौतिक संरचनासंग जोडिएको गर्बुजाले बताए ।

बेलायती सेनाबाट अवकाश प्राप्त भएपछि गाउँ फर्किएका पुनले संस्थागत सहित ब्यक्तिगत रुपमा समेत धेरै आर्थिक समुदायमा खर्चे गरेकै कारण गाउँमा आवश्यक पर्ने धेरै समस्याहरु समाधान भएको स्थानीय बुढापाकाको भनाई छ । मंगलबार तिप्ल्याङमा भिसी पुनको सम्झनामा कालिका आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा स्वर्गीय पुनकी कान्छी श्रीमति पुनिसरा तिलिजा, छोरा अर्जुन तिलिजा, विकास तिलिजा, छोरीहरुलाई भब्य स्वागत सहित सम्मान समेत गरिएको थियो ।

सोही अवसरमा भिसी पुनको सम्झनामा विविध सांस्कृतिक सहितका कार्यक्रम समेत गरिएको थियो । बेगखोलाको बादुरक गाउँमा कविराम र आमा तनिसा तिलिजाको कोखबाट १९२३ मार्चमा जन्मिएका पुन २० बर्षको उमेरमा भर्ती भएका थिए । पुनको बादुक तिप्लाङस्थित आफ्नै घरमा सन् २०११ अप्रिल २० मा ९० बर्षको उमेरमा निधन भएको थियो । हरेक बर्ष विभिन्न कार्यक्रम गरी गाउँमा पुनको सम्झना गर्ने गरिन्छ ।

यो पनि पढ्नुहोस् बहादुरहरुका पनि बहादुर, गोर्खा आन्दोलनका महानायक