माध्यमिक शिक्षा परीक्षा आजदेखि, २५ सय विद्यार्थी सहभागी

0

प्रताप बानियाँ

म्याग्दी जिल्लामा यसवर्ष माध्यमिक शिक्षा परीक्षा (साविकको एसएलसी) आजदेखि शुरु भएको छ । परीक्षाका लागि आवश्यक केन्द्राध्यक्ष चयन, जनशक्ति व्यवस्थापन, प्रश्नपत्र÷उत्तरपुस्तिका उपलब्ध, सिट प्लानिङ, विद्यार्थीलाई प्रवेश पत्र वितरणलगातय सबै तयारी पुरा गरी परीक्षा सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ । परीक्षा आज बिहान ८ बजेबाट शुरु भएको छ भने पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् ।

यस वर्षदेखि हुन लागेको माविस्तरीय परीक्षामा जिल्लाभरबाट झण्डै २ हजार ५ सयजना विद्यार्थीहरु सहभागी भएका छन् । परीक्षामा २ हजार ४ सय ९४ जना विद्यार्थीहरुको सहभागीता रहेको म्याग्दीका जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए । तीमध्ये ५४ जना एक्जाम्टेड तथा ग्रेड वृद्धिका रहेको उनले बताएका छन् । छात्र नियमिततर्फ ११ सय ६९, छात्रा नियमित १२ सय ७१, छात्र एक्जाम्टेड २३ र छात्रा ३१ रहेको उनको भनाई छ ।

यसैगरी पढ्दापढ्दै बिचैमा छाडेका, परीक्षा फाराम नभरेका, बसाई सरी गएका, ७५ प्रतिशत हाँजिर नपुगेका तथा बिहेबारी गरेका ५४ जना विद्यार्थीहरु अयोग्य रहेको जिशिअ श्रेष्ठले बताए । उनका अनुसार म्याग्दीमा ९ ओटा परीक्षाका केन्द्रहरु तोकिएको छ । जसमा मुक्तिमार्ग घार, मुक्तिधाम मावि राखुभगवती, हेम मावि सिबाङ, जनप्रिय मावि दरबाङ, मंगला मावि बाबियाचौर, धौलागिरि मावि सिङ्गा, प्रकाश मावि बेनी, बेनी सामुदायिक मावि र न्यु वेष्ट प्वाईन्ट आमावि रहेको शिक्षा कार्यालयले जानकारी दिएको छ ।

ती केन्द्रहरुमा क्रमशः प्रतिभा कट्रेल, अमरबहादुर केसी, शेरबहादुर केसी, दिवाकर सुवेदी, गमबहादुर खत्री, भूवनप्रसाद रेग्मी, हरिकृष्ण सुवेदी, नन्दबहादुर खत्री र जगतकुमार सापकोटालाई केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको छ । परीक्षा सञ्चालन हुने केन्द्रहरुमध्ये सबैभन्दा धेरै प्रकाश माविमा ३ सय ५३ र सबभन्दा कम मुक्तिमार्ग माविमा १ सय ५२ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् ।

यसअघि परीक्षा सञ्चालनका लागि आवश्यक उत्तरपुस्तिका र प्रश्नपत्र सम्बन्धित ठाउँमा पठाउने, सुरक्षा व्यवस्थालगायतका कार्यहरु पुरा गरिसकिएको बताइएको छ । यसैगरी केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण समेत गरिएको छ । परीक्षा सञ्चालन तथा व्यवस्थापन र नीतिगत विषयमा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिशिअ श्रेष्ठ, प्राविधिक पक्षका विषयमा विद्यालय निरीक्षक विश्वप्रकाश रेग्मी र सुरक्षाका लागि प्रहरी निरीक्षक दिवाकर घिमिरेले सहजीकरण गरेका थिए ।

परीक्षालाई व्यवस्थित र मर्यादित तरबले सञ्चालन तथा सम्पन्न गर्न गराउन केन्द्राध्यक्ष ९, सहायक १४, निरीक्षक १०६, सहयोगी ५२ र सुरक्षाकर्मी ९० जनाको व्यवस्था गरिएको विद्यालय निरीक्षक विश्वप्रकाश रेग्मीले बताए । त्यस्तै जिल्ला परीक्षा समन्वय समितिका पदाधिकारी, शिक्षाका कर्मचारी, पेशागत संघ सङ्गठनका प्रतिनिधिलगायत ३० जना अनुगमनका लागि खटिने भएका छन् । विगतको समीक्षा गर्दै परीक्षालाई सभ्य, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गर्न केन्द्राध्यक्षले प्रतिबद्धता जनाएका छन् ।

यसैबीच सबै केन्द्रको परीक्षा छात्रा तथा अपाङ्गतामैत्री र छात्रालाई आवश्यक सेनेटरी प्याड, स्वास्थ्यसम्बन्धी सेवाको व्यवस्थालगायतको माग गर्दै अनेरास्ववियु म्याग्दीले जिल्ला शिक्षा कार्यालयमा मङ्गलबारै ज्ञापनपत्र बुझाएको थियो ।