धौलागिरी गाउँपालीका नागरीक आन्दोलन संघर्ष समिति र जिल्लामा क्रियाशिल राजनितिक दलहरुबीच बिहीबार भएको वार्ता निष्कर्षबिहीन भएको छ । बिवाद समाधानका लागि गाउँपालीकाका सबै वडाका प्रतिनिधिहरुबीच अर्को छलफल गर्ने सहमतीमा वार्ता टुङ्गीएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रेमराज गिरीको रोहबरमा समितिको कार्यालयमा वार्ता भएको थियो । वार्ताको पहिलो चरणमा संघर्ष समितिका अगुवा, राजनिति दलका प्रतिनिधि, प्रजिअ र स्थानीय विकास अधिकारीले बिवाद समाधानका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । समितिको तर्फबाट संयोजक खुमनाथ सुवेदीले पुर्वाधारको उपलब्धता, सबैलाई पायक पर्ने, प्राकृतीक, सामाजिक हिसावले सुरक्षित, बस्ती विकासको सम्भावना, प्रशासनीक सुगमताको आधारमा ताकमलाई धौलागिरी गाउँपालीकाको केन्द्र बनाउनुपर्ने बताउनुभयो ।

समितिका प्रतिनिधिहरुले प्राबिधिक सहयोग समितिको तत्कालीन नेतृत्वको पूर्वाग्रह र राजनितिक दलहरुको गैरजिम्मेवारपनका कारण एकै ठाउँमा केन्द्र सिफारीस हुन नसकेको तथा स्थानीय तहको सिमाना, नाम र केन्द्र निर्धारण गर्न बनेको आयोगले अन्ययापूर्ण तरीकाले केन्द्र कायम गरेको गुनासो गरेका थिए ।

राजनितिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुले तत्कालीन अवस्थामा कुनै एक ठाउँलाई केन्द्र कायम गर्ने गरी सुझाव दिन नसक्नु आफूहरुको कमजोरी स्वीकार गर्दै अब निर्वाचित जनप्रतिनिधि मार्फत केन्द्र कायम गर्ने बिकल्प रोज्न आग्रह गर्नुभएको थियो । उहाँहरुले गाउँपालीकामा समावेश भएका साबिकका सबै गाविससंग समझदारी र सद्भाव कायम गरेर निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभयो ।

प्रजिअ पौडेल र स्थानीय विकास अधिकारी गिरीले स्थानीय तहको निर्वाचनपछि जनप्रतीनिधीले मात्र केन्द्र परिवर्तन गर्न पाउने अधिकार भएकाले स्थानीय तह कार्यान्वय र निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभयो । मुनामा गाउँपालीका कार्यालय स्थापना गर्न निमित्त कार्यकारी अधिकृत सोमबहादुर खत्री सहितको टोलीलाई मंगलबार धारापानीबाट फर्काएका संघर्ष समितिले दरवाङ ताकम मुना सडकमा यातायात र खच्चर आवत जावतमा रोक लगाएर आन्दोलन गरेका छन् । यातायात बन्द हुँदा ताकम, मुना, मुदी, लुलाङ, गुर्जाको जनजिवन प्रभावित भएको छ । सन्तोष गौतम