बेगखोला तिप्ल्याङका बलमान गौचनले गाउँपालिकाको केन्द्र पाखापानी तोकिएपछि चर्को विरोध गरे । जनतालाई घरदैलोमा सरकारी सेवासुविधा दिने गरी स्थानीय तहको निर्धारण गरिएको घोषणा गरेपनि साविकको बेगखोला गाविस अन्र्तरगत बाँदुक र तिप्ल्याङका जनतालाई ढुंगेयूगमा फर्किएजस्तै भएको गौचनको भनाई छ ।

‘हामीले पाखापानी केन्द्रको विरोध गरेका छैनौ । सबै जनतालाई घरदैलोमै सरकारको अनुभुति दिलाउनुपर्छ’ गौचनले भने । उनले गाउँपालिकाको केन्द्र प्रस्ताव गरिएको पिप्लेको रघुगंगा र पाखापानीको विकल्पमा बेगखोलाको बादुँक र तिप्ल्याङ सहित गाविसबासीलाई एकघण्टाको पैदलयात्रामा पुगिने अन्नपुर्ण गाउँपालिका अनुकुल हुने भएकाले विगतमा समेत जिल्ला देखी केन्द्रसम्म गरिएका प्रयासहरु असफल भएको बताउँदै यस्तो अवस्थामा जनतालाई सेवासुविधा दिन चासो देखाउने राजनीतिक दलप्रति गाउँले आक्रोशित भएको बताए ।

‘चुनावमा भोट माग्न आउने नेताहरुलाई सुझाव छ, पहिले हाम्रो माग पुरा गर्नुहोस् अनि मात्रै भोट माग्न आउनुहोस्’ पुन भिसी स्मृति क्लवका अध्यक्ष समेत रहेका उनले भने । तीनवटा वडाका बासिन्दाले धेरैपटक गरेका प्रयासहरुमा सुनुवाई नभएको भन्दै राजनीतिक दलप्रति आक्रोश पोखेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपामा आवद्ध रहेका स्थानीय नेताहरुले समेत जिल्लातहमा कुनैपनि हालतमा गाउँपालिकाको केन्द्र जनताको इच्छा विपरित भएकाले सच्चाउन माग गरेका थिए ।

‘राजनीतिक दलका नेताहरुले जनताको लागि सुविधा दिन नसके भोट पनि पाउँदैनन् । आक्रोशित जनताको विचमा भोट माग्न यसपटक सजिलो छैन’ यूवा दिपक पुर्जाले बेनीअनलाइनलाई भने । केन्द्र टाढा र अपायक भएको समस्यालाई समाधान नगरी जनताको घरदैलोमा भोट माग्न आउनेहरु प्रति जनता जाईलाग्ने उनको भनाई छ । रघुगंगाको १ नम्बर वडा बेगका बासिन्दाले सदरमुकाम बेनी भन्दा नयाँ केन्द्रमा पुग्न धेरै समय लाग्ने भन्दै आन्दोलित भएपछि गाउँपालिकाको छलफलमा समस्यालाई बेवास्ता गरिएको भन्दै बेगखोलाबासी आक्रोशित भएका हु्न ।