धु्रबसागर शर्मा
चार महिना अघि “दुर्यान्तर” नामक यन्त्र पत्ता लगाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चा पाएका म्याग्दी जिल्लाको बेनी नगरपालिका २, ज्यामरुककोटका युवा वैज्ञानिक भविन्द्र कुँवरले फेरी अर्को ‘गणितीय सम्बन्ध’ पत्ता लगाएका छन् । उनले लामोसमयको खोजपछि गणितमा सारीकरण पत्ता लगाएका हुन्। सारीकरण पत्ता लागेपछि झन्डै ५००० वर्षदेखि रहस्यमा रहेको शून्यसम्बन्धी अंकगणितीय समस्याको समाधान भेटिएको हो ।

विगत लामो समयदेखि पूर्व तथा पश्चिमका गणितज्ञहरुले शून्यका कारण गणितमा समस्या रहेको स्वीकार्दै आएका थिए । उनीहरुले शून्यसम्बन्धी उक्त समस्यालाई गणितीय त्रुटिहरुमा सूचीकृत गर्दै आएका थिए । कुँवरको यस खोजपछि गणितमा उक्त समस्या आउनुका पछि लुकेर रहेको अन्तर्निहित कारण भेटिनुका साथै सम्बन्धित समस्या स्पष्ट रुपले निवारण हुन पुगेको हो ।

‘अन्य विषयहरुमा खोज गर्ने क्रममा शून्यसँग सम्बन्धित अध्ययनसामग्रीहरु पनि संकलन गर्ने र सम्बन्धित खोज गर्ने कार्य गर्दै आएको थिएँ । मन अलिक हतारिएको थियो । अन्तर्तहमा छिपेर रहेको वास्तविक रहस्य भेटिएपछि पनि कारण किटेर निर्णय लिनका लागि पर्याप्त प्रमाणहरुको खोजीमा थिएँ । खोजपछि सम्बन्धित लेख तयार पार्न पनि निकै समय लाग्यो – खोजकर्ता कुँवरले बताए ।

कुँवरले यस खोजका बारेमा स्पष्ट गर्नका लागि एउटा विस्तृत जानकारीसहितको लेखसमेत प्रकाशित गरेका छन् । ‘शून्यको अंकगणितीय भूमिका’ शीर्षकको उक्त लेखमा सार, सारीकरण, शून्यको अंकगणितीय भूमिका र अर्थ आदि शून्यसँग सम्बन्धित विविध विषयबारे स्पष्ट गरिएको छ । लेखमार्फत् शून्य जोर संख्या नहुनुका कारण र प्रमाणहरु दिएका कुँवरले बराबर र शून्यबीचको सम्बन्धको सीमा के हो ? भन्नेबारे पनि स्पष्ट पारेका छन् । शून्यले खेल्ने भूमिकाजस्तै भूमिका खेल्ने एउटा अर्को संकेत शून्यजस्तै आकारमा रही स्थानमानका रुपमा कसरी रहेको थियो ? भन्ने कुराको रोचक भेदसमेत उनको खोजमा स्पष्ट गरिएको छ ।

विगत २५ वर्षदेखि विज्ञानका क्षेत्रमा खोज गर्दै आएका कुँवरले वि. सं. २०६७ सालमा ‘भौतिक शास्त्रमा भएका केही त्रुटिहरुका खन्डन र समाधान’ शीर्षकको पुस्तक प्रकाशन गरेका थिए । उक्त पुस्तकमा शून्यले निम्ताएका समस्याहरुबारे तीनवटा छोटा लेखहरु प्रकाशित गरेका थिए । शून्यसँग शून्य बराबर हुन्छ भनी मान्दा निम्तिने गणितीय समस्याले वर्षौँदेखि विश्वभरिका गणितज्ञहरुलाई सताएको थियो । त्यसको कारण र समस्याको निवारण सारीकरणको पत्ता लगाइबाट स्पष्ट हुन पुगेको कुँवरले बताएका छन् ।

केही समयअघि दुर्यान्तर पत्ता लगाएका कुँवरले विज्ञानसम्बन्धी ५ वटा पुस्तक र दर्जनौँ अनुसन्धानपत्रहरु लेखेका छन् । उनले शून्यसँग सम्बन्धित भाव, अभाव र विपरीत भावसम्बन्धी नयाँ धारणा पनि उक्त लेखमा प्रस्तुत गरेका छन् । आफ्नो लेखमा चिनियाँ लेखन पद्धति र हिन्दू अरबिक लेखन पद्धतिको तुलनात्मक अध्ययन गर्दै शून्यको वास्तविकता पहिल्याएका खोजकर्ता कुँवरले आफू गणितको विद्यार्थी भएकाले पनि गणितमा गहिरो रुचि रहँदै आएको बताए ।

शून्य र संख्या गुणन गर्दा वा शून्यलाई कुनै संख्याले भाग गर्दा आउने परिमाणले गणितीय समीकरणका सम्बन्धमा गम्भिर प्रश्न खडा गरेको थियो । शून्यले कुनै सन्दर्भहरुमा जुनसुकै संख्यासँग जुनसुकै संख्या बराबर हुन्छ भन्ने गलत परिणाम दिने गर्दथ्यो । त्यतिबेला (वि. सं. २०६७ मा) पुस्तक प्रकाशन गर्दा आफूलाई शून्यका कारण गणितमा देखिएको त्रुटि औँल्याउन सजिलो लागेको थियो तर समाधान पहिल्याउन सजिलो भएन, निकै समय लाग्यो, जटिल पनि भयो – कुँवरले जानकारी गराए ।

गणित पनि पद, पदावली तथा वाक्यहरुमा निहित अर्थहरुको जगमा उभिएको व्यवस्था हो । यसले नाप, आकार, गणना, वर्गीकरण तथा तुलनाका सन्दर्भमा सप्रमाण वस्तुगत अध्ययन गर्दछ । यसमा प्रयुक्त संकेतहरु अद्वैतार्थी हुनुपर्दछ । गणित नभएको भए संसारको स्वरुप आजको जस्तो हुन सम्भव थिएन । तर गणितमा पनि अन्य विषयमा झैँ प्रशस्त अपूर्णताहरु छन् । नयाँ खोजहरुले गणितलाई समृद्ध तुल्याउँदै जान्छन् – खोजकर्ता कुँवरले बताए ।

सन् ४७६ मा भारतमा जन्मिएका खगोलशास्त्री तथा गणितज्ञ आर्यभटले सर्वप्रथम शून्य पत्ता लगाएको मानिन्छ । त्यसपछि सन् ५९८ मा जन्मिएका अर्का खगोलशास्त्री तथा गणितज्ञ ब्रह्म गुप्ताले आफ्नो पुस्तक ‘ब्रह्मस्फूट सिद्धान्त’मा शून्यका विभिन्न सम्बन्ध र स्वरुपबारे स्पष्ट पारेका थिए । गुप्ताले त्यतिबेला दिएको मान्यतामा केही सुधार भए पनि शून्यको अंकगणितीय स्वरुप र सम्बन्धका सन्दर्भमा त्यसभन्दा पछि थप नयाँ कुराहरु जोडिन सकेका थिएनन् ।

यस सूचनाबारे निश्चित गर्न र सम्बन्धित विषयवस्तुबारे थप जानकारी प्राप्त गर्नका लागि आवश्यक परेमा खोजसँग सम्बन्धित विस्तृत लेख यो लिंकमा छः
http://accuratephysics.blogspot.com/2017/03/arithmetic-role-of-zero.html
-Physics Reformation Campaign