म्याग्दीमा हात्तीपाईले रोगको औषधी सेवनमा उत्साहजनक सहभागिता

0

राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत म्याग्दी जिल्लामा शनिबार देखी आठौं चरणको हात्तीपाईले (फाईलेरिया) रोगविरुद्धको औषधी खुवाउने अभियान सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्थानीय विकास अधिकारी प्रेमराज गिरी, अस्पताल विकास समितिका अधयक्ष माधव प्रसाद रेग्मी लगाएत राजनीतिक दलको उपस्थितिमा औपचारिक उद्घाटन कार्यक्रमका विच तीनदिने अभियान सुरु गरेको हो ।

चैतको ५ गते शनिबार देखी सुरु भएको अभियान ६ र ७ गते बेनी नगरपालिका र पाँचवटा गाउँपालिकाको टोल, वडा, स्वास्थ्य चौकी लगाएतमा पहिलो दिन केन्द्र राखेर खुवाउने, दोस्रो दिन घरदैलो अभियान र तेस्रो दिन छुटेकालाई सम्पर्क गरी खुवाउने अभियान रहेको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा. रोशन न्यापानेले बताउनुभयो ।

औषधी खुवाउन स्वास्थ्यकर्मी सहित स्वयमसेवक गरी करिव १२ सय जना परिचालन गरिने छ । जिल्लामा करिव १४ सय जनामा हात्तिपाईले(फाईलेरिया) को परजिवि रहेको जिल्ला स्वास्थ्य कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको छ । औषधी सेवनमा चासो नदिने, जिल्ला बाहिरबाट बसाईसराई गरेका, नदीकिनारा, फोहोरमा बस्नेलाई लामखुट्टेको टोकाईबाट सर्ने रोग जिल्लाको कुल जनसंख्या १ लाख १२ हजार ३ सय १४ मध्ये १४ सयमा परजिवी देखिएको हो । औषधी सेवन बारे सदरमुकाममा नाटक समेत प्रस्तुत गरिएको थियो।

२ वर्षमूनिका बालबालिका, गर्भवती तथा ७ दिनका सुत्केरी, सिकिस्त र छारे रोगका बिरामी, दिर्घरोगी एवं ५ वर्षमूनिका कुपोषित बालबालिकाहरुलाई भने औषधी सेवन गर्न निषेध गरिएपनि लक्षित समुदायले निर्धक्क औषधीको सेवन गर्दा कुनै असर नगर्ने भन्दै एकमहिना अगाडी देखी सन्देशमुलक सुचना र अभियान सञ्चालन गरिएको थियो । रोग लामखुट्टेको माध्यमबाट मानिसमा शरिरको काखी, घुँडामूनि, हात तथा खुट्टाको नरम भाग र काटेको ठाउँबाट सर्ने गर्दछ । हात्तीपाईले रोग लागेका व्यक्तिमध्ये पुरुषहरुमा हाईड्रोसिल हुने, अण्डकोष सुन्निने, स्त्रीको स्तन बढ्ने एवं हातखुट्टा ठूलो भएर हात्तीकोजस्तो हुने लक्षणहरु देखिने भन्दै जनस्वास्थ्यको चुनौतीमा रुपमा रहेको हात्तिपाईले रोग विरुद्धको अभियानलाई जिल्लामा रहेका अन्य संघसंस्था मार्फत समेत सहयोग भइरहेको छ ।