बेलायतको सर्वोच्च यूद्ध पदक भिक्टोरिया क्रस विजेता एवम् समाजसेवी तुल बहादुर पुनको सम्झनामा उनको जन्मगाउँ म्याग्दीको बेगखोलास्थित तिप्लाङमा म्यूजियम बन्ने भएको छ । गोर्खा आन्दोलनका महानायकको रुपमा समेत चिनिने पुनको जिवनी, यूद्धका अनुभव, साम्रगी, पदक, पोशाक सहित पुनका बालकालदेखीका अति महत्वपूर्ण दस्तावेजहरुलाई म्यूजियममा राखिने उनका जेठा छोरा अर्जुन तिलिजा पुनले बताए ।‘म्यूजिमका लागि धेरैपहिला देखी पहल भएको थियो। अहिले अवसर मिलेको छ ।केहीदिनमै आवश्यक प्रक्रिया सुरु हुन्छ’ तिलिजा पुनले बेनीअनलाइनलाई भने।

स्थानीयबासीले गाउँमा विकासको रेखा कोर्ने स्वर्गीय पुनको स्मृतिमा म्यूजियमको आवश्यकता रहेको बताएपछि पुन परिवारले कालिका आधारभुत विद्यालय नजिक रहेको करिव १ रोपनी जग्गा १५ लाख ५० हजारमा खरिद गरेर विद्यालयको नाममा हस्तान्तरण भइसकेको छ । म्यूजियमलाई कलात्मक बनाउन इन्जिनियरहरू समेत बाहिरबाट ल्याउने तयारी भइरहेको छ । म्यूजियम निर्माणमा पुनका परिवार, आफन्त र शुभचिन्तकबाट समेत सहयोगको प्रतिबद्धता जनाइएको छ । करिव ४० देखी ६० लाखको लागत अनुमान गरिएको छ ।

बेलायती सेनाबाट अवकाश लिएपछि तत्कालिन समयमा ब्रिटिस सरकारको कर्मचारी र राजनीतिक कार्यकताका रुपमा समेत काम गरेका भिसी पुनलाई उत्तरी क्षेत्रका जनतालाई शिक्षा, स्वास्थ्य, विकास निर्माण,खानेपानी सहित विभिन्न आवश्यकताहरुलाई पुरा गर्न बेलायत सरकार, आफ्नै कम्पनी र ब्यक्तिगत रुपमा समेत लाखौं सहयोग गरेका थिए ।‘म्यूजियमले भिसीलाई सधै जिवित राख्ने छ ।

पर्यटन प्रर्वधनमा समेत म्यूजिमयले सघाउनेछ’ बादुँकका स्थानीय बेग बहादुर पुनले भने । बेनी–जोमसोम सडकखण्ड अन्र्तरगत पर्ने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकले भिसीको भौजी र सामाजिक योगदानलाई बुझ्ने र हेर्न मिल्ने भन्दै स्थानीयबासी समेत उत्साहित भएका छन् ।

तत्कालिन समयमा मुस्ताङका सदरमुकाम उत्तरी म्याग्दीको दानामा हु्दाँ थुप्रै विकासका कार्यक्रमहरु भित्राएका पुनको सक्रियतामा स्थापना भएका विद्यालयहरुमा हरेक बर्ष स्मृति दिवसको आयोजना गरी भब्य कार्यक्रम समेत गर्ने गरिन्छ । कालिका आधारभुत विद्यालय तिप्ल्याङ र श्री कृष्ण आधारभुत विद्यालय बादुँकको संस्थापक समेत रहेका पुनको परिवारबाट विद्यालयमा ब्यक्तिगत रुपमै लाखौंको सहयोग भएको छ ।

उनको सम्झनामा बेगखोला गाउँमा जोड्ने सडकमा समेत १ करोडभन्दा धेरै चन्दा सङ्कलन गरेर पुन भिसी मार्ग तथा जन्मगाउँ बादुँक जाने ग्रामिण सडकमा समेत प्रवासमा रहेका स्थानीयले लाखौं चन्दा संकलन गरी सडक विस्तार गरिएको थियो । ‘उहाँको योगदानको ठुलो आकारको पुस्तक बन्छ। एउटा फौजीले गाउँको रुप नै परिवर्तनमा ठुलो भूमिका खेल्नुभयो’टेक बहादुर गुर्बजाले बेनीअनलाइनलाई भने ।

कालिका विद्यालयका संस्थापक अध्यक्ष समेत रहेका गर्बुजाका अनुसार विद्यालयमा अक्षय कोष, शिक्षकको तलब सहित आवश्यक शैक्षिक साम्रागी र सुविधासम्पन्न भवन बनाउन समेत भिसी परिवारले नेतृत्वदाही भूमिका खेलेका थिए । भिसीको समाधिस्थल आसपासमा रहेको करिव ९ रोपनी जंगलको घाँसदाउराको आम्दानी समेत विद्यालयले प्रयोग गर्ने गरेको छ ।

घरायसी कामको सिलसिलामा बेलायतबाट गाउँ आएका भिसी पुनकी कान्छी श्रीमति पुनिसरा तिलिजा, छोरा अर्जुन तिलिजा, विकास तिलिजा, छोरीहरुलाई स्थानीयले पुख्यौली नाच, नौमति वाजा सहित समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गरी भब्य स्वागत समेत गरेका थिए । बेगखोलाको बादुरक गाउँमा कविराम र आमा तनिसा तिलिजाको कोखबाट १९२३ मार्चमा जन्मिएका पुन २० बर्षको उमेरमा भर्ती भएका थिए । पुनको बादुक तिप्लाङस्थित आफ्नै घरमा सन् २०११ अप्रिल २० मा ९० बर्षको उमेरमा निधन भएको थियो ।

विज्ञापन