विगतका बर्षमा स्वास्थ्य स्वयंमसेविकाले घरमै पुगेर हात्तीपाईले (फाईलेरिया) रोगविरुद्धको औषधी सेवनको प्रस्तावलाई बेनी नगरपालिका–७ की ४३ बर्षिया जमिला खातुङले ठाडै अस्वीकार गर्थिन । हात्तिपाईले विरुद्धको औषधी सेवन गरेपछि चक्कर लाग्ने, विश्वका ठुला देशले नमुना परिक्षणका लागि पठाएको औषधीबाट विभिन्न रोग फैलने, चक्कर लागेर ज्यान समेत जान सक्ने भन्दै खातुङले जिल्लामा अभियान सुरु भएको सातौंपटकसम्म एकपटक पनि औषधी सेवन गरिनन् ।

औषधी सेवनबाट हुने नकारात्मक सन्देशका कारण विगतमा सेवन नगरेकी खातुङले आठौं चरणको अभियानमा औषधी सेवन नगर्दा हुने असरका बारेमा पोष्टर सहित स्वास्थ्यकर्मीले पसलमै पुगेर देखाएपछि औषधी सेवन गरिन ।‘अहिलेसम्म मलाई भ्रममा पारिएको रहेछ । अव हरेकबर्ष सेवन गर्छु’ उनले भनिन् । खातुङले सेवन गरेको देखेपछि उनको नजिक रहेकी १५ बर्षिया छोरी सादिदाले पनि धेरैपटकको अनुरोधमा औषधी सेवन गरिन्।

म्याग्दीमा शनिबार देखी सुरू भएको हात्तिपाईले (फाईलेरिया)रोगविरुद्धको औषधी खुवाउने अभियानमा चोक–चोकमा राखिएको केन्द्रमा विगतका बर्षमा जस्तै औषधी सेवन गर्न मुस्मिल समुदायका बालबालिका देखी बृद्धबृद्धासम्म नआएपछि अभियनका फोकलपर्सन भिमप्रसाद आचार्यको नेतृत्वमा मुस्मिल समुदायको बसोबास रहेको सुकुम्बासी बस्तीमै पुगेर हात्तिपाईले रोग लाग्ने र लागेपछि हुने समस्या सहितका तस्विर देखाएर औषधी खुवाइएको छ । हात्तिपाईले रोगको सक्रमण फैलिएका विरामीको डरलाग्दो पोष्टर र लामखुट्टेबाट रोग सर्ने जानकारी पाएपछि धमाधम औषधी सेवनमा सर्वसाधारणले चासो देखाएको स्वास्थ्यकर्मीको भनाई छ ।

‘विगतमा अगुवाहरू बाहेक अरुले खाएको देखिएनन् ।यसपटक अभियानकै पहिलोदिन सबैजसोलाई औषधी खुवाउन सफल भयौं’ आचार्यले भने । उनले औषधी लिएर स्वास्थ्यकर्मी बस्तीमा छिर्दा उच्च शिक्षा हासिल गरेका यूवाहरूले समेत अस्वीकार गरेको बताए । बनजंगल, बस्त ीआसपासका क्षेत्रमा फोहोर देखिएको मुस्लिम बस्तीमा लामखुट्टेले टोक्ने सम्भावना उच्च भएकाले प्राथमिकतामा राखेर अभियान सञ्चालन गरेको बताए ।

म्याग्दीको सदरमुकम बेनी सहित छिमेकी जिल्लाको पवर्त बेनीमा करिव २ सय २० जनसंख्या मध्ये २ वर्षमूनिका बालबालिका, गर्भवती तथा ७ दिनका सुत्केरी, सिकिस्त र छारे रोगका बिरामी, दिर्घरोगी एवं ५ वर्षमूनिका कुपोषित बालबालिका बाहेकलाई औषधी सेवन गराउने प्रयासमा मुस्लिम समाज सेवा समितिले समेत साथ दिएको छ । ‘विगतमा औषधीका बारेमा समुदायमा धेरै नकारात्मक सन्देश मात्रै थियो । यसपटक मैले पनि गोष्ठीमा सहभागि हुने अवसर पाएपछि घरदैलोमै पुगेर औषधी खुवाउँदैछु’ समाजका अध्यक्ष रहमद खाँ ले भने । उनका अनुसार जिल्लामा सञ्चालित खोप अभियानमा कुनैपनि बालबालिका बन्चिन नभएको बताउँदै मानव स्वास्थ्यको चुनौतीमा रुपमा रहेका रोग विरुद्धको औषधी सेवनबाट समुदायलाई बन्चित हुन नदिने प्रतिबद्धता समेत जनाए ।

उनले पहिलोपटक औषधी सेवन गराउन सकस भएको बताए । यसैविच जिल्लामा अभियानको पहिलो दिन केन्द्रमा औषधी सेवन गर्न सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ । बेनी नगरपालिका र ५ वटा गाउँपालिकामा स्वास्थ्यकर्मी, महिला स्वयमसेविका सहित करिव १२ सय जना परिचालन गरिएको छ । औषधी सेवनमा चासो नदिने, जिल्ला बाहिरबाट बसाईसराई गरेका, नदीकिनारा, फोहोरमा बस्नेलाई लामखुट्टेको टोकाईबाट सर्ने रोग जिल्लाको कुल जनसंख्या १ लाख १२ हजार ३ सय १४ मध्ये १४ सयमा परजिवी देखिएपछि यसबर्ष अहिलेसम्मकै धेरै जनशक्ती सहित तीनदिनसम्म घरदैलोमै पुगेर औषधी सेवनको ब्यवस्था गरिएको छ ।