‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने मूल नारासहित सोमबार म्याग्दीमा पहिलोपटक विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ । म्याग्दी जिल्ला अस्पताल परिसरभित्र रहेको दाँत तथा मुख विभागको आयोजनामा विविध कार्यक्रमहरु गरी दिवस मनाइएको हो ।

दिवसको अवसर पारी मुख तथा दाँतको हेरचाहसम्बन्धी सन्देशमूलक नाराहरु लेखिएका प्लेडकार्ड बोकेर सदरमुकाम बेनीबजारमा प्रभातफेरी ¥याली गरिएको थियो । सोही अवसरमा विद्यालय उमेर समूहका बालबालिका, वृद्धवृद्धा, फरक क्षमता भएकालगायतलाई एकएक ओटा ब्रस समेत वितरण गरिएको दाँत तथा मुख विभागले जनाएको छ ।

कार्यक्रममा बोल्दै काठमाडौंका डेन्टिस्ट डाक्टर निल पाण्डेले दाँत, मुख र गिँजामा समस्या आइरहने हुँदा बिहान र बेलुका खाना खाइसकेपछि राम्रोसँग दाँत माझ्नुपर्ने बताएका थिए । उनले मुखमा क्यान्सर हुनसक्ने बताउँदै दाँत माझ्ने तरिका र ब्रसको प्रयोगका बारेमा पनि जानकारी गराएका छन् । सोही कार्यक्रममा जिल्ला अस्पतालका डेन्टिस्ट डा. सन्ध्या पौडेलले कम्तीमा पनि एकपटक दाँतको चेकजाँच गराउनुपर्नेमा जोड दिएकी थिइन् ।

अन्तर्राष्ट्रियस्तरमा विगत १० वर्षदेखि मनाउन थालिएको दिवस हरेक वर्षको मार्च २० तारिखका दिन मनाउने गरिन्छ । यसैबीच उत्तरी पर्वतको माझफाँटस्थित विद्यालयमा पनि बालबालिकाहरुलाई दाँत माझ्ने तरिकाबारे सहजीकरण गरिएको थियो । प्रताप बानियाँ