यूद्धको घाउ अझै निको भएन

0

शसस्त्र यूद्धमा सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएका बेनी नगरपालिका–८ नेपाने बस्तीका झिल्के सार्कीकी छोरी कल्पना विद्यालय जादिनन् । ०६० साल चैत्र ७ गते माओवादीले म्याग्दीको सदरमुकाम बेनीमा आक्रमण गरेको भोलिपल्ट ज्यालामजदुरी गर्ने बेनी नजिककै खवरामा पुगेका झिल्केको सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोलीले घटनास्थलमै मृत्यु भएको थियो । ज्यालामजदुरी गरेर जिवन निर्वाह गर्ने गरेका झिल्केकी श्रीमतिले दोस्रो विवाह गरेपछि बेसाहारा भएकी कल्पना र छोरा विशालका करिव एक दशक कष्टकर जिवन वित्यो ।अफन्त र छिमेकीले हजुरबुबा डम्बर बहादुर सार्कीसंग बस्ने ब्यवस्था मिलाएपनि उनीहरूको दैनिकी कष्टकर छ ।

सार्कीसंगै मजदुरी गरिरहेका पुलाचौर पुरुन्नेका खम्बे दमाई, थकाने दमाई, सुन्ते दमाई र फौजे र उनका छोरा सुर्य दमाईको परिवारको अवस्था पनि विजोग छ । ‘निर्दोषले ज्यान गुमाए, राज्यको राहतले पीडितको दैनिकी सहज भएको छैन’ पुरुन्नेका दलित अगुवा टिकाराम दर्जीले भने ।उनले परिवारको एक्लो आम्दानीको स्रोतलाई गोलीले उडाएपछिको अवस्था बयान गर्न नसकिने अवस्थाको रहेको बताए । शसस्त्र यूद्धको क्रममा सरकारी र विद्रोही पक्षबाट ज्यान गुमाएकाको परिवारलाई राज्यले दोस्रो दर्जाको नागरिक सहर ब्यवहार गरेको भन्दै विभिन्न कार्यक्रममा आक्रमक रुपमा प्रस्तुत हुने गरेका छन् ।

तत्कालिन समयमा सरकारी फौजको गोलीबाट एकै चिहान भएका मजदुरको परिवारलाई सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत ५ लाख र झिल्केका छोरा–छोरीलाई मासिक ५ हजारको दरले जिवन निर्वाह भत्ता संगै सीपमुलक तालिममा प्राथमिकता दिने गरेको स्थानीय शान्ति समितिका संयोजक विज्ञान सुबेदीले बेनीअनलाइनलाई बताए । ‘द्धन्द्धपिडितलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेका छौ । उहाँहरूको अवस्था कष्टकर भएपनि बजेट अभावका कारण भनेजस्तो सहयोग गर्न सकिएको छैन’ उनले भने । ज्यान गुमाएकाको परिवारलाई राहत, रोजगारीमा प्राथमिकता र सरकारी जागीरमा समेत विशेष अवसरको माग गर्ने गरेको सचिव सुबेदीको भनाई छ।

उनका अनुसार शसस्त्र यूद्धमा ९५ जनाले ज्यान गुमाएका मध्ये ९४ जनाले राहत प्राप्त गरेको बताए । सरकार पक्ष र विद्रोहीबाट हत्या गरिएका अधिकांसको अवस्था दयनीय छ । १० बर्षे शसस्त्र यूद्धको नेतृत्व गरेका तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल दुईपटक र अर्का नेता बाबुराम भट्टराई प्रधानमन्त्री हुदाँ समेत राहत प्राप्त नगरेका द्धन्द्धपिडितले यूद्धको घाउ अझै निको नभएको गुनासो गर्ने गरेका छन् । पिडितलाई राहत र सहजका लागि स्थानीय शान्ती समितिको स्थापना गरेपनि आवश्यक स्रोतसाधन र बजेट अभावका कारण समान्य र अनौपचारिक कार्यक्रममा बजेट खर्च गर्ने गरिएको छ । माओवादी यूद्धको सबैभन्दा ठुलो आक्रमणका रुपमा लिने गरिएको बेनी आक्रमणमा सरकारी र विद्रोही पक्षका धेरैले ज्यान गुमाएका थिए ।
०६० साल चैत्र ७ गते बेनीमा आक्रमणमा ज्यान गुमाएकाहरुलाई कालिगण्डकीमा अन्त्येष्टी गरिदै ।