भैंसी बाँध्ने गोठ बन्यो बेनीको हाटबजार स्थल, कृषक र उपभोक्ता मर्कामा

1

ग्रामीण भेगमा कृषकले उत्पादन गरेका कृषि उपजको सहज बजार व्यवस्थापन र उपभोक्तालाई सहुलियतमा कृषिजन्य उपजको बिक्री वितरण गर्ने उद्देश्यले हाटबजार सञ्चालन गर्ने गरिन्छ । कृषक आफूले उत्पादन गरेका उत्पादनलाई सिधै बजारमा पु¥याउन र उत्पादन अनुसारको मुल्य पाउन व्यवस्थित रुपमा हाटबजार लगाइन्छ । तर, म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बहुउद्देश्यीय खेलमैदानमा सञ्चालित साप्ताहिक कृषि हाटबजार स्थल भने पछिल्लो समय अव्यवस्थित बन्दै गएको छ ।

बेनीमा सञ्चालित हाटबजारलाई व्यवस्थित गर्न भन्दै निर्माण गरिएको कृषि उपज सङ्कलन केन्द्र भैंसी बाँध्ने गोठमा परिणत भएपछि किसान र उपभोक्ता मर्कामा परेका छन् । हरेक शनिबार लाग्ने हाटबजार सुक्दै गएको र यसबारे सरोकारवाला निकायले बेवास्ता गरेपछि सरकारी लगानीमा बनेका भवन र टहरा थारा भैंसी बाँध्ने भकारो बन्न थालेको छ ।

म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, सिङ्गा तातोपानी, अर्थुङ्गे, गलेश्वरसहित छिमेकी जिल्ला पर्वतको मल्लाज, सालिजा, खोलाखेत र धाईरिङका कृषकको उपजले सहज बजार पाओस् भनेर हाटबजार सञ्चालन गरिएको भए पनि व्यवस्थित हुन सकेको छैन । शनिबारे हाट सञ्चालन गर्ने टहरामा अहिले बजारमा मासु, सुकुटी र मम बनाउनका लागि काट्न ल्याइने थारा भैंसी बाँध्ने गरिएको छ ।

२०६५ सालदेखि चार चरणमा गरी हाटबजार सञ्चालनका लागि भवन र टहरा बनाउन प्राविधिक सहयोग र लाखौं रुपैयाँ लगानी भैसकेको छ । जिल्लाको कृषि, पशु, उद्योगधन्दा आदि क्षेत्रको विकासका लागि भन्दै विभिन्न संघसंस्थाहरु क्रियाशील पनि छन् । तर, तिनै कार्यालयको नाकैमूनि सार्वजनिक सम्पत्तिको दुरुपयोग हुँदा सम्बन्धित पक्षको ध्यान जान सकेको छैन ।

पछिल्लोपटक २०७० सालदेखि जिल्ला कृषि विकास कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको पहलमा प्रत्येक शनिबार बेनीमा हाटबजार शुरु गरिएको थियो । शुरुशुरुमा पर्वतको मल्लाज, धाईरिङलगायत म्याग्दीको ज्यामरुककोट, सिङ्गालगायतका कृषकले सोझै आफ्नो उत्पादन हाटमा ल्याउने गरेका थिए । हाट शुरु हुँदाका केही महिना सदरमुकाम बेनीको बहुउद्देश्यीय मैदानमा निकै भीडभाड हुने गरेको थियो । तर, अहिले त्यहाँ भुजा, सस्ता मूल्यका कपडा, चप्पल र एक दुई कृषकले मात्रै आलु र तरकारी बेच्ने गरेका छन् । हाट व्यवस्थित बनाउन भन्दै लामो टहरो बनाइए पनि त्यो ठाउँ थारा भैंसीको गोठ बनेको छ ।

हाटबजार स्थल वरपर फोहोर हुँदै गएको र नजिकै रहेको पशु बधस्थल हटाउनुपर्ने कृषि उपज सङ्कलन केन्द्रले जनाएको छ । टहरामा भैंसी बाँध्ने, बजारको ढल, ढुङ्गा, माटो र गेगर ल्याएर फाल्ने गरेको हुँदा यस्तो कार्यलाई सम्बन्धित निकायले तुरुन्तै निरुत्साहित गर्नुपर्ने कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर घिमिरेले बताउनुभयो । व्यवस्थित हाटबजार सञ्चालनका लागि शनिबार पूर्णरुपमा पसल बन्द गरी आवश्यक प्रचारप्रसारसहित कृषकलाई हाटबजारसम्म आउने वातावरण सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो ।

उता, हाटबजारलाई व्यवस्थित गर्न कार्यालयमार्फत सञ्चालक समिति र कृषकसँग आवश्यक पहल भैरहेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । कृषकहरुले पर्याप्त मात्रामा कृषि उपज उत्पादन गरेर त्यसलाई हाट बजारसम्म ल्याउनुपर्ने र कृषक स्वयं आफू पनि सचेत बन्नुपर्ने कृषि विकास कार्यालयको भनाई छ ।

हाटबजारमा ३० लाख लगानीः

बेनीमा हाटबजार सञ्चालनका लागि हालसम्म विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले झण्डै ३० लाख रुपैयाँ लगानी गरिसकेका छन् । लगानी गर्नेमध्ये जिल्ला कृषि विकास कार्यालयले मात्रै प्राविधिक सहयोगबाहेक १९ लाख रुपैयाँ लगानी गरेको जनाएको छ । त्यसैगरी जिविस म्याग्दीले १ लाख ५० हजार, डिसिआरडिसी, डिमेगा, सहमति र प्लान नेपालले दुईदुई लाखका दरले लगानी गरेका छन् । नगद र प्राविधिक सहयोग गरी करिब ३० लाख लगानी गरिएको हाटबजार लगाउने भवनमा सार्वजनिक सम्पतिको दुरुपयोग भने रोकिएको छैन ।

सरोकारवाला निकाय मौनः

हाटबजारमा त्यसरी दिनानुदिन भैंसी बाँध्ने काम हुँदा पनि सरोकारवाला निकाय भने मौन रहेका छन् । जिल्ला प्रशासन, प्रहरी, कृषि विकास, पशु सेवा कार्यालय, बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य संघले हाटबजारलाई व्यवस्थित सञ्चालनका लागि आवश्यक पहल गरेको देखिएको छैन । हाटबजार स्थलनजिक पशु बधस्थल हुनु र कृषि उपज राख्ने टहरामा भैंसी बाध्ने काम हुँदा सम्बन्धित निकायले आवश्यक पहल नगर्दा कृषकहरु मर्कामा परेका हुन् ।

कृषकको उत्पादन बजार आउँदैनः

पछिल्लो समय ग्रामीण क्षेत्रमा कृषकले उत्पादन गरेका कृषि उपजहरु हाटबजारमा आउन सकेको छैन । बिच बाटोमै बिचौलियाले फसाउने र कृषकले मेहनतअनुसार प्रतिफल नपाउँदा कृषकका उपज हाटमा आउन छाडेको कृषि उपज बजार सञ्चालक समितिले बताएको छ । कृषकमा खेती किसानी गर्नुपर्छ र उत्पादित उपज बजार पु¥याएर प्रतिफल लिनुपर्छ भन्ने सचेतनाको अभावले पनि हाटबजारमा कृषकको उपज नआएको बताइएको छ ।

बजारको ढल मैदानमाः

बहुउद्देश्यीय खेलमैदानमा म्याग्दी सदरमुकाम बेनीबजारको ढल समेत जाने गरेको छ । बजारसँगै जिल्लामा सञ्चालित विभिन्न सरकारी कार्यालयलगायतको ढल सिधै हाटबजार सञ्चालन गर्ने बहुउद्देश्यीय खेलमैदानमा जाँदा समस्या भएको छ । हाटबजारमा ढल मात्रै होइन बजारमा छाडा छोडिएका बस्तुभाउ पनि जाने गर्दा कृषकलाई समस्यामाथी समस्या थपिएको छ । हाटबजारस्थल वरपर पानी जम्ने खाल्डाखुल्डी, माटो थुपार्ने र बस्तुभाउ छोडिँदा हाटबजार चलाउँदा समस्या

1 COMMENT

Comments are closed.