संघीय संरचनाअनुसार आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई म्याग्देली जनताले निकै उत्साहा पूर्वक प्रतिक्षा गरिरहेका छन् । झन्डै दुई दशकपछि नयाँ संरचना अनुसार हुन लागेको नगरपालिका र गाउँपालिकाको निर्वाचनलाई निकै उत्सुकतापूर्वक हेरेका हुन् । म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् ।

नगरपालिका र गाउँपालिकाका विभिन्न पदमा गरी २ सय ४७ जना जनप्रतिनिधि चयने निर्वाचनमा म्याग्दी जिल्लाबाट १२ वटा दल दर्ता भएका जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।७१ हजार ९ सय ८ जना मतदाता रहेको म्याग्दीमा ७२ वटा मतदान केन्द्र कायम गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो ।

अब अव हुने गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिको अधिकार साविकको गाविस, नगरपालिकामा चुनिएर आउने प्रतिनिधिभन्दा बढी हुने भएकाले पनि मतदाताले बढी चासो दिएको बेनी नगरपालिका २ का टीकावहादुर कार्कीले बताउनुभयो । निर्वाचनको तयारी भइरहँदा यहाँ राजनीतिक कार्यकर्ताबीच चुनावमा कुन दलको उम्मेदवार विजयी हुनसक्छ भन्नेबारे चुनावी जोड घटाउ पनि हुन थालेको छ । चुनावी जोड घटाउको चर्चा परिचर्चासँगै बजार क्षेत्रका चोक र चिया पसल,गाउँका टोल र भेला बैठकहरुमा दलका नेता कार्यकर्ता आआफ्नो दलका उम्मेदवार विजयी हुने दाबी गरिरहेका भेटिन्छन् ।

नयाँ संरचनाअनुसार म्याग्दी जिल्लाका सबै पाँच गाउँपालिका र एक नगरपालिकाको निर्वाचन हुन लागेको भए पनि खासगरी जिल्लाको एकमात्र नगरपालिका बेनी नगरपालिकाको नेतृत्वमा कुन दलको को व्यक्ति चुनिएर आउने भन्ने विषयले चुनावी चर्चामा बढी प्राथमिकता पाउन थालेको छ । यति बेला नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),राप्रपालगायतका पार्टीमा नगरपाकिालकोे प्रमुख कसलाई बनाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा भित्रभित्रै तयारी भइरहेको छ । धु्बसागर शर्मा