नेकपा एमालेको पूर्ण जिल्ला कमिटी बैठकले बेनी नगरपालिका र चार गाउँपालिकामा संयोजक तोकेको छ । बिहिबार बसेको बैठकले बेनी नगरपालिकाको संयोजक प्रमोद श्रेष्ठ, सहसंयोजक राजकुमार थापा, मंगला गाउँपालिकाको संयोजकमा प्रेमप्रसाद रेग्मी, सहसंयोजक रत्न विक, मालिका गाउँपालिका संयोजक कर्ण रोका, सहसंयोजक बेगप्रसाद गर्बुजा त्यसैगरी धौलागिरि गाउँपालिकाको संयोजक देउप्रसाद छन्त्याल, सहसंयोजक थमसरा पुन र अन्नपूर्ण गाउँपालिका संयोजक भरत पुन सहसंयोजक गोकुल बरुवाललाई तोकेको पार्टी जिल्ला सचिव बालकृष्ण सुबेदीले बेनीअनलाइनलाई जानकारी दिए । रघुगंगा गाउँपालिकामा विवाद भएकाले त्यहाँ तत्काल संयोजक र उपसंयोजक तोकिएको छैन् ।

उनका अनु्सार संयोजकले चैत्र १५ गतेभित्र बैठक बोलाउन समेत निर्देशन दिइएको छ । स्थानीय निकायको निर्वाचनलाई केन्द्रित गरेर अभियान सञ्चालन गर्ने गरी र्चैत्र २५ गते संगठित सदस्यको भेला बोलाएर निर्वाचनको तयारी र उम्मेदवारका विषयमा समेत छलफल गर्ने छ । पार्टीको केन्द्रिय निर्देशन अनुसार गाविसको गाउँ कमिटी वडा कमिटीमा रुपान्तरण भएको छ भने गाविस र इलाका पदाधिकारी सम्बन्धित गाउँपालिकाको पदेन सदस्यको ब्यवस्था गरिएको छ ।

यसैविच रघुगंगा गाउँपालिकाको विवादलाई पार्टीको केन्द्रिय कमिटी मार्फत सरकारलाई नयाँ गाउँपालिका वा नगरपालिकामा आउने गरी वातावरण बनाउन अनुरोध गरिने भएको छ भने धौलागिरि गाउँपालिकाकाको विवादलाई गाउँपालिकामै समाधानको प्रयास गर्न गाउँपालिकाको कमिटीलाई निर्देशन दिएको छ । पार्टीको बैठकले तोकेका प्रमुखहरु जिल्लाका सम्भावित मेयर र गाउँपालिका प्रमुखमा लड्ने संकेत देखिएको छ ।

बेनी नगरपालिकामा विगत देखिनै चर्चामा रहेका प्रमोद श्रेष्ठलाई संयोजकको जिम्मेबारी दिइएको छ भने गाउँपालिकामा समेत त्यस क्षेत्रमा प्रभाव राख्न सक्ने ब्यक्तिलाई नै जिम्मेबारी प्रदान गरिएको छ । पार्टी स्रोतका अनुसार केन्द्रिय मापदण्ड अनुसार लोकप्रिय, पार्टीप्रतिको योगदान लगाएतलाई मापदण्ड बनाइएको अवस्थामा तोकिएका संयोजक र उपसंयोजक मध्यबाटै निर्वाचनमा उम्मेदवारी दिने संकेत स्वरुप जिम्मेबारी सुम्पिएको हो । हरिकृष्ण गौतम