स्मार्ट बन्छ जीवन भन्दै अर्मनका नवविवाहित जोडीहरुलाई शुभकामन

0
280

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा शुक्रबार नवविवाहित जोडीहरुका लागि सफल दाम्पत्य जीवनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । ‘परिवार नियोजन, स्मार्ट बन्छ जीवन’ भन्ने मूल नारासहित एचसी थ्री म्याग्दीको सहयोग र अर्मन स्वास्थ्यचौकीको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा अर्मन, बाबियाचौर र बराङ्जाका झण्डै ३ दर्जन नवविवाहित जोडीहरुलाई स्मार्ट जीवन जिउने तरिका र परिवार नियोजनसँग सम्बन्धित विभिन्न विषयहरुमा सहजीकरण गरिएको छ । उनीहरुलाई परिवार नियोजनका अस्थायी साधन कण्डम, डिपो, पिल्स, ३ महिने सुई, कपर्टी, ईमप्लान्ट, आईरन चक्की तथा स्थायी साधन भ्यासेक्टोमी, मिनिल्यापलगायतका सेवाको प्रयोग एवं फाइदाका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेले स्वस्थ बच्चा जन्माउनका लागि कम्तीमा पनि ३ वर्षको जन्मान्तर राख्नुपर्ने सुझाव दिए । उनले आमा र बच्चाको स्वास्थ्य स्वस्थ भएमा स्वस्थ समाजको विकास हुनेहुँदा नवविवाहित दम्पतिले आफ्ना बालबच्चालाई पूर्ण खोप दिनुपर्ने बताउँदै स्मार्ट जीबन बिताउन विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा एचसी थ्रीका जिल्ला संयोजक सरस्वती पुरीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै विभिन्न सर्भेक्षणले १५ देखि २९ वर्ष उमेर समूहका युवा पुस्तामा परिवार नियोजनका साधनहरुको प्रयोगमा कमी देखिएको हुँदा त्यसमा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरिएको बताइन् । कार्यक्रमको अवसरमा नवविवाहित जोडीलाई परिवार नियोजनसँग सम्बन्धित सन्देशमूलक पुस्तिका, बुलेटिन र फोटो फ्रेम वितरण गरिएको थियो । उक्त कार्यक्रममा अन्तत्र्रिmया र छलफल गरिनुका साथै सो डान्स र नाचगान गरिएको एचसी थ्रीका फिल्ड सुपरभाईजर सुमित्रा पौडेलले बताइन् ।नवविवाहित जोडीहरुले स्मार्ट जीबन जिउनका लागि प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा सिप्फो म्याग्दीका म्यानेजर डा. मिलन सिग्देलले मन्तव्य राखेका थिएभने अर्मन स्वास्थ्यचौकीका अनमी हिरा खरालले स्वास्थ्यचौकीमा उपलब्ध सेवासुविधा र परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोगका बारेमा सहभागीलाई जानकारी गराएकी थिइन् । कार्यक्रम मंगला गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत चित्रराज आचार्यको अध्यक्षता, अर्मन स्वास्थ्यचौकीका सिनियर अहेव यमप्रसाद खरालको स्वागत र अनमी मिना गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

स्वास्थ्य, सञ्चार, सूचना तथा समन्वयको माध्यमबाट परिवार नियोजनका सेवाको प्रयोगमा पहुँच बढाउने मुख्य उद्देश्यसहित कार्यक्रममार्फत अनिच्छित गर्भाधारणमा कमी ल्याउने लक्ष्य राखिएको छ । १५ वर्षदेखि २९ वर्षसम्मका लक्षित समूह रहेकोमा कार्यक्रमबाट युवा दम्पति, सिमान्तकृत समुदाय, वैदेशिक रोजगारमा गएका तथा ३ महिना भन्दाबढी घरबाहिर बसेकालाई लक्षित गरी म्याग्दीमा बेनी नगरपालिकासहित साविकका ९ ओटा गाविसमा कार्यक्रम सञ्चालन गरिएको छ ।