संगीतमय बन्दै प्रथम धौलागिरि सांस्कृतिक महोत्सव

0

‘हाम्रो अभियान, लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारासहित प्रथम धौलागिरि सांस्कृतिक महोत्सव बेनीमा जारीरहेको छ । कलाकारहरुको कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यसहित बिहीबारदेखि म्याग्दीको सदरमुकाममा प्रथम धौलागिरि सांस्कृतिक महोत्सव आयोजना गरिएको हो ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान धौलागिरि अञ्चल कार्यसमितिको आयोजनामा शुरु भएको सांस्कृतिक महोत्सव आगामी चैतको २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिन आज शुक्रबारदेखि लोकगीत प्रतियोगिता शुरु भएको छ भने प्रतियोगितामा १९ समूह सहभागी भएका छन् ।

यसैगरी आजै राष्ट्रिय कलाकार चोलेन्द्र पौडेल, तिलकबम मल्ल, घनश्याम रिजाल, फुलमाया केसी, शक्ति छिनाललगायतले आ–आफ्नो प्रस्तुती देखाएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान धौलागिरिका महासचिव पूर्ण परियारले जानकारी दिएका छन् । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै महोत्सवको तेस्रो दिन शनिबार लोकगीत तथा भजन र नृत्य प्रतियोगिता लगायत विविध साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रमहरु सञ्चालन हुने महासचिव परियारको भनाई छ ।

शुक्रबारको कार्यक्रम सञ्चालन धौलागिरि सांस्कृतिक महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक अमित विश्वकर्माले गरेका थिए । महोत्सवको अवसरमा खुलामञ्चमा विभिन्न स्टलहरु राखिएको छ भने बहुउद्देश्यीय खेलमैदानमा रमाइलो मेला सञ्चालन गरिएको छ । तेस्रो दिन राष्ट्रिय कलाकार खड्ग गर्बुजालगायतको प्रस्तुती रहेको बताइएको छ । हालसम्म ५० हजारको टिकट बिक्री गरिसकिएको बताइएको छ । केपी सापकोटा