गोपाल छन्त्याल
म्याग्दी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा आइतबार बिहान तोडफोड भएको छ । क्याम्पसमा गठित स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति ईश्वर सुवेदीले क्याम्पस प्रमुख टिकाराम सापकोटाको कार्यकक्षमा टेबुल, नामप्लेट र सिसा माथि तोडफोड गरेका हुन् ।

विगत नौ महिनादेखि क्याम्पसमा तलब बृद्धि नभएको भन्दै चैत ८ गते बसेको कर्मचारी बैठकले आइतबारदेखि सम्पूर्ण काम ठप्प बनाउने निर्णय बमोजिम प्राध्यापकहरुले डेन डाउन गरेर आन्दोलनमा उत्रिएका छन् । सोही कारण कक्षाकोठामा नियमित पठनपाठन हुन नसकेको विषयमा जानकारी गराउन क्याम्पस प्रमुखलाई पटक–पटक सम्पर्क गरेपनि वेवास्ता गरेको भन्दै स्ववियु उपसभापति सुवेदीले र्दुव्यवहारसँगै तोडफोड गरेका हुन् ।

क्याम्पस प्रमुख सापकोटाले मोटरसाइलका सवार रहेका कारण फोन उठाउन नपाएपनि त्यसैलाई आधार बनाएर पूर्वग्राही ढँगले र्दुव्यवहार र आफ्नो कार्यकक्षमा तोडफोड गरेको बताए । ‘क्याम्पसका प्राध्यापक र अन्य कर्मचारीले नौ महिनादेखि तलबबृद्धि नभएको भनेर आन्दोलन गर्नुभएको छ, सोही कारण क्याम्पसमा पढाई नभएका हुन् । यो विषय सञ्चालक समितिलाई पनि जानकारी छ’, उनले भने, ‘त्यसको निहुँमा जिम्मेवार पदाधिकारी नै तोडफोडमा उत्रिनु दुखद कुरा हो । हामी माथि यस्तो हुन्छ भने हामी कसरी कक्षामा गएर पढाउन सक्छौँ ?’ क्याम्पसमा १३ पूर्णकालीन सहित ३० जना प्राध्यापक र ९ जना विभिन्न शाखामा कर्मचारी कार्यरत छन् ।

नेपाल सरकारले कर्मचारीको तलबमान बृद्धि गर्ने बर्ष क्याम्पसमा पनि यसअघि नियमित तलब बृद्धि हुदै आएको थियो । लामो समयदेखि तलबबृद्धि नभएको भन्दै प्राध्यापक तथा कर्मचारीले सञ्चालक समितिलाई ध्यानाकर्षण गराएपछि असोज १२ गतेको वैठकले विद्यार्थीको मासिक शुल्क र प्राध्यापक एवँ कर्मचारीको तलब बृद्धि गर्ने निर्णय गरेको थियो । तर, विद्यार्थीको मासिक शुल्क बृद्धि गरिएको भन्दै अनेरास्ववियुले क्याम्पसमा आन्दोलन गरेपछि दुबै निर्णय कार्यान्वयन हुन नसकेको क्याम्पस प्रमुख सापकोटाले जानकारी दिए । ‘सामुदायिक क्याम्पस भएकाले विद्यार्थीको शुल्कबाटै क्याम्पस चल्ने हो । मासिक शुल्क बृद्धि नहुँदा क्याम्पसको कर्मचारीको तलब बढ्न सकेको छैन’, उनले भने, ‘त्यो समस्याको समाधान गर्नुको सट्टा तोडफोडमा उत्रिनु राम्रो होइन ।’

स्ववियु सभापति सावित्री खत्रीले क्याम्पसमा विद्यार्थी समस्या सुनुवाई गर्ने प्रमुखले नै उपभासपति सुवेदी माथि अपशष्द प्रयोग गरेका कारण उक्त घटना भएको बताईन् । ‘बिहान ६ बजे नै आउनुपर्ने क्याम्पस प्रमुख आधा घण्टासम्म आउनु भएन । २०÷३० पटक फोन गर्दा पनि उठाउनुभएन्’, उनले भनिन्, ‘किन यस्तो भयो भन्दा उल्टै अपशष्द बोल्नुभयो, त्यसपछि घटना भएको हो । यसमा दुबै पक्ष दोषी छ, हामीले आफ्नो तर्फबाट क्षमायाचना गर्नेछौँ ।’ सभापति खत्रीले प्राध्यापकहरुले डेन डाउन गरेको अवस्थामा स्ववियुका पदाधिकारी तथा सदस्यहरु हरेक कक्षाकोठामा गएर पठनपाठन गर्ने वातावरण सिर्जना गरिदिएको समेत बताईन् ।