म्याग्दीको पर्यटकीयस्थल टोड्केका बनजंगलमा फुलेको लालिगुराँसले गाउँवस्तीहरु रमणीय र सुन्दर देखिएका छन् । बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सिमानमा अवस्थित टोड्केमा यसबर्ष बनपाखामा फुलेका गुरासँमा रमाउन सदरमुकाम बेनी सहित आसपासका क्षेत्रबाट समेत त्यहाँ पुग्ने गरेका छन् ।

ढकमक्क लालिगुराँस फूलेपछि घुम्न जाने आन्तरिक पर्यटकको संख्या समेत विगतको तुलनामा बढेको छ । गुराँस संगै मुस्कुराईरहेको टोड्केमा विस्तारै पुर्वाधार थपिदै गएको छ । पर्यटकीय तथा धार्मिकस्थल टोड्केमा झिँ, पात्लेखेत र कुहुँबाट जोडिएको सडकमार्गबाट दुईपाङ्ग्रे र भाडाका सवारीसाधनमा एकरात टोड्केमा विताउने गरी पुग्ने गर्दछन् । विहानै गुराँसको मुस्कानसंगै सुर्यदय, धौलागिरि हिमालसंगै प्राकृतिक सौन्दर्यताको अवलोकन गर्नेको प्रचारप्रसारमा समेत विषेशगरी विदा मनाउन जानेहरुको संख्या बढेको टोड्के क्षेत्र विकास कोषका अध्यक्ष मोहन खत्रीको भनाई छ ।

गतबर्ष गुराँस महोत्सवमा निकै कम फुलेको गुराँस यसबर्ष सामुदायिक तथा राष्ट्रिय बनमा धेरै फुलेको छ । विभिन्न प्रजातीका लालिगुराँसले सौन्दर्यतामा समेत निखार समेत आएको छ । यस क्षेत्रमा राता, गुलावी र सेता रङ्क भएका गुराँसका प्रजातिका पाइन्छ । गुराँस नजिकै पुगेर तस्विर लिने तथा गुराँसलाई टिपेर घरसम्म लैजाने घना जंगलभित्र पस्ने आन्तरिक पर्यटकले गुराँसको संरक्षणमा समेत चासो देखाएका छन् । गाउँबस्तीबाट राताम्मे जंगल देखिने गरेपनि दाउराका लागि गुराँसको जंगल समेत प्रयोग हुन थालेपछि स्थानीय चिन्तित भएका छन् ।

बैशाखसम्म जंगलमा गुराँस देखिन्छ । लालीगुराँसबाट आयआर्जन समेत गर्न सकिने भएपनि आवश्यक उपकरणको अभावमा त्यसै खेर जाने गरेको छ । लालिगुराँस आर्युवेदिक औषधी वनाउनका लागि कच्चा पदार्थको रुपमा समेत प्रयोग गर्ने गरिन्छ । घाँटीमा माछाको काँडा अड्कियो भने लालीगुराँस चपाउँदा निको हुने आर्युवेदिक चिकित्सकहरुको भनाई छ । त्यसैगरी रक्तअल्पता, नसा र पेटका समस्याभएकाहरुलाई समेत लालिगुराँसको फूल सेवन गर्दा फाइदा पुग्ने वताइन्छ । एकबर्षको अन्तरालमा गुराँस फुल्ने गर्दछ ।