म्याग्दीको सदरमुकाम बेनीमा आयोजित प्रथम धौलागिरि सांस्कृतिक महोत्सव आकर्षक र रोचक बन्दै गएको छ । ‘हाम्रो अभियान, लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारासहित लगाइएको महोत्सव चौथो दिन आजसम्म आइपुग्दा थप रोचक बनेको हो ।

आइतबार राष्ट्रिय कलाकार राजन कार्की, सीता केसी, कुमार पुन र याम क्षत्री, स्थानीय कलाकार पदम विश्वकर्मा, लालु परियारलगायतले आ–आफ्नो प्रस्तुतीले दर्शक स्रोतालाई मनोरञ्जन दिलाएका छन् । कलारहरुको प्रस्तुतीमा दर्शकहरु कम्मर मकाएर छमछमी नाचेका थिए । कलाकारहरुले आफ्ना विभिन्न गीतहरु प्रस्तुत गरेका थिए । सोही अवसरमा अपाङ्गता सुस्मिता विक र जलन विकले समेत गीतमार्फत आफ्नो पीडा सुनाएका थिए ।

उनीहरुको गीत मन परेपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल धौलागिरि अञ्चल कार्यसमिति, कलाकार र दर्शकलगायतले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ । कलाकारको कल्याणकारी कोष स्थापना गर्ने र अग्रजको सम्मान तथा नवप्रतिभालाई हौसला दिन महोत्सव आयोजना गरिएको लोकदोहोरी प्रतिष्ठान धौलागिरिका अध्यक्ष राजेन्द्र सापकोटाले बताए । महोत्सवको अवसरमा भजन, नृत्य, भलिबल प्रतियोगिता आयोजना गरिनुका साथै महोत्सवस्थलमा विभिन्न स्टलहरु राखिएको छ । आगामी २० गतेसम्म सञ्चालन हुने महोत्सवमा रमाइलो मेला समेत आयोजना गरिएको छ ।