म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा बस्ने बेसहारा ८२ वर्षिया इन्द्रकली भण्डारीलाई म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकम स्थायी घरभई हाल बेल्जियममा रहनुभएका होमवहादुर छन्त्यालले रु १० हजार सहयोग गर्नुभएको छ ।

खाने अन्न र ओढ्ने कपडा नहुँदा अर्काको घरमा भोकै रात र दिन कटाउन बाध्य भएको समाचार गत पुसमा बेनीअनलाइनमा पत्रकार धुबसागर शर्माले स्थलगत रुपमै पुगेर महिलाको समस्या समेटेको समाचार प्रकाशित भएपछि बेल्जिममा रहनुभएको छन्त्यालले श्रीमती चिनाकुमारी छन्त्यालमार्फत सो रकम उपलव्ध गराउनुभएको हो । आइतवार छन्त्यालकी श्रीमती चिनाकुमारी छन्त्याल र आफन्त रेशम छन्त्याल भण्डारी बसेको घरमै पुगी सो रकम हस्तान्तरण गर्नुभएको छ ।

१० वर्ष अघि श्रीमान प्रेमवहादुर भण्डारीले खबरामा रहेको सम्पूर्ण सम्पत्ति वेचेर सकेपछि घरवार विहीन भएकी भण्डारी ९ वर्ष अघि श्रीमानको समेत मृत्यु भएपछि एक्लै अर्काको घरमा कोठी मागेर बस्नुभएको छ । बेनी नगरपालिका २ बाङ्गेरामा लक्ष्मण बोगटीको घरको कोठीमा आश्रय लिएकी भण्डारीलाई देश विदेशमा रहेका व्यक्तिहरुले सहयोग गरेका छन् । सहयोग पछि अहिले भण्डारीको अवस्थामा निकै सुधार आएको छ । भण्डारीलाई आवश्यक पर्ने लत्ताकपडा,खाद्यान्न र नगद जुटिसकेको र अव उहाँलाई आर्थिक सहयोगको आवश्यकता नरहेकोले सहयोग अभियान बन्द गरिएको जानकारी गराउँदछु ।