(प्रताप बानियाँ)
म्याग्दीको सदरमुकाम बेनीबजारको खुलामञ्चमा सञ्चालित प्रथम धौलागिरि सांस्कृतिक महोत्सव आज पनि जारीरहेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान धौलागिरि अञ्चल कार्यसमितिको आयोजनामा लगाइएको सांस्कृतिक महोत्सव छैटौं दिन मङ्गलबार विविध प्रस्तुतीहरु भएका छन् ।

महोत्सवको अवसरमा आयोजित भजन प्रतियोगितामा गणेश मण्डली भजन समूह बागलुङ प्रथम, सङ्गीतमय युवा भजन समूह पर्वत द्वितीय, धार्मिक भजन समूह पर्वत तृतीय र कालीका भगवती भजन समूह बागलुङ सान्त्वना भएको महोत्सव मूल आयोजक समितिका सदस्य अमित विश्वकर्माले जानकारी दिए । विजयी समूहलाई क्रमशः २० हजार, १० हजार ५ हजार र प्रमाणपत्रले महोत्सवको अन्तिम दिन पुरस्कृत गरिनेछ ।

यसैगरी एकल गायनतर्फ गरिएको प्रतियोगिता टप–फोमा प्रवेश गरेको छ । टप फोभित्र राममाया कौशल, रमेश परियार, खिमा पूर्जा, विजय परियार पर्न सफल भएका छन्भने एकल गायन प्रतियोगिता पुनः शुक्रबार गरिने सदस्य विश्वकर्माको भनाई छ । त्यस्तै धौलागिरि अञ्चल लिगस्तरीय महिलातर्फको भलिबल प्रतियोगितामा म्याग्दी समूह ‘ए’ प्रथम भएको खेलकुद संयोजक तेजेन्द्र बानियाँले बताए ।

त्यसैगरी मङ्गलबारको दिन पनि विविध सांस्कृतिक एवं साङ्गीतिक कार्यक्रम सम्पन्न भएका छन् । राष्ट्रिय कलाकार रमेशराज भट्टराई, कृष्ण परियार, बिबि अनुरागी, तारापति सुवेदी, शोरुपा रसाईली, स्थानीय कलाकार किरण पुनलगायतले आ–आफ्नो प्रस्तुतीमार्फत दर्शक स्रोतालाई मनोरञ्जन दिलाएका थिए । महोत्सवमा विभिन्न गीतसङ्गीत तथा नृत्यु प्रस्तुत, भेषभूषा प्रदर्शनी, रमाइलो मेला र व्यावसायिक स्टलहरु सञ्चालन गरिएको लोकदोहोरी प्रतिष्ठानले जनाएको छ ।