म्याग्दीको रघुगंगा गाउँपालिका– ६ ठाडाखानीमा रहेको तामाखानी संरक्षण र उत्खननको पर्खाइमा रहेको छ । डेढ शताब्दीदेखि बन्द रहेको तामाखानी संरक्षणको अभावमा बेवारिसे बनेको छ । साविक पाखापानी गाविस– ५ र ६ मा पर्ने ठाडाखानी गाउँभन्दा माथि पहाडको फेदीमा रहेका खानीहरू संरक्षण नहुँदा पुरिँदै गएका छन् ।

तत्कालीन सरकारले आम्दानीभन्दा बढी कर तिर्नुपर्ने व्यवस्था गरेपछि खानी बन्द भएको ठाडाखानीका ८८ वर्षीय रनप्रसाद छन्त्यालले बताए । दुई पुस्ता अघिसम्म खानीबाट तामा उत्खनन भएको उनको भनाइ छ । पूर्णगाउँस्थित पहाडको फेदीमा १२ वटा सुरुङ छन् । ठाडाखानीमा बसोबास गर्ने छन्त्याल समुदायका पुर्खाले ती सुरुङभित्र छिरेर तामा उत्खनन गरी जीविकोपार्जन गर्दै आएका थिए ।

ठाडाखानीको तामा भाँडावर्तन र सिक्का बनाउन प्र्रयोग हुने गरेको थियो । देशका विभिन्न ठाउँका व्यापारीहरू तामा किन्नका लागि गाउँमै पुग्ने गरेका थिए । तामाबाट ताउला, गाग्रीलगायतका भाँडाहरू बनाउने गरिन्छ । अहिले नेपाली बजारमा आयातित तामाको प्र्रयोग हुने गरेको छ । तामाखानी बन्द भएपछि ठाडाखानीका छन्त्याल समुदायले कृषि, पशुपालन र वैदेशिक रोजगारी अपनाएका छन् । अध्ययन, अनुसन्धान गर्ने हो भने अहिले पनि तामा उत्खननको सम्भावना रहेको स्थानीयवासी नरेश छन्त्यालले बताए । आधुनिक प्रविधि र यन्त्र उपकरणको विकास भएकाले तामा उत्खनन गर्न सकिने उनको भनाइ छ ।

ठाडाखानीका बासिन्दाले तामाखानीको संरक्षण र अनुसन्धानको माग गरेका छन् । हिलो, पात–पतिङ्गर र बाढीले तामाखानीभित्र पस्ने सुरुङ पुरिँदै गएका छन् । एक किमिभित्रसम्म सुरुङ रहेको स्थानीय बासिन्दा बताउँछन् । पहाडको फेदीमा रहेको पाखोमा खानीबाट निकालेको तामा प्रशोधन गर्ने क्रममा फालिएका धातुका टुक्रा प्रशस्त भेटिन्छ । धातुको रसायनका कारण अहिलेसम्म सो पाखोमा बोटबिरुवा उम्रिएका छैनन् । ठाडाखानीमा ९० घरधुरी छन्त्याल, मगर र दलित समुदायको बसोबास छ । उनीहरू तामा खन्नका लागि बागलुङको लामेला तमानबाट बसाइँ सराइ गरेर आएको बूढापाकाहरू बताउँछन् ।

छन्त्याल समुदायको पुख्र्यौली पेशा तामा खन्ने रहेको थियो । तामाखानी सञ्चालनमा आए रोजगारीको सिर्जना र स्थानीयस्तरमै आयआर्जनको अवसर प्राप्त हुने ठाडाखानीका मनबहादुर बुढाथोकीले बताए । गतवर्ष जारी भएको संविधानले खानी संरक्षण र उत्खननको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै ठाडाखानीलगायत म्याग्दीका विभिन्न ठाउँमा रहेका खानीहरू सञ्चालनमा आउने आशा पलाएको छ । सन्तोष गौतम karobardaiy.com