म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित उद्योग प्रवद्र्धन कार्यक्रमअन्तर्गत सञ्चालित ७ दिनको तालिममा महिलाहरुले अगरबत्ती र दालमोठ बनाएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको आयोजना र संरक्षक म्याग्दीको सहआयोजनामा भएको तालिममा सहभागी महिलाहरुले दालमोठ र अगरबत्तीको निर्माण गरेका हुन् ।

मानसिक रोगीहरुको हेरचाहका लागि खटिएका संरक्षकहरुलाई लक्षित सञ्चालन गरिएको सिपमूलक तालिमको अवधिमा सहभागी महिलाहरुले तालिम हलमै अगरबत्ती र खानेकुरा दालमोठको निर्माण गरेको संरक्षक म्याग्दीले जनाएको छ । सहभागीले दालमोठ, भूजिया, नमकिन, आलुचिप्स, केराउ फ्राईलगायतका खाजाका परिकारहरु निर्माण गरेका थिए ।

अगरबत्तीलाई प्रति गोटा २५ र दालमोठका परिकारलाई १५ देखि ५० रुपैयाँसम्मको मुल्य तोकिएको संरक्षक म्याग्दीका अध्यक्ष निशा महत जिसीले जानकारी दिएकी छिन् । तालिमको अगरबत्ती उद्यमी सेमिता पुन र दालमोठको हिराकुमारी पाईजाले सहजीकरण गरेका थिए । १४ दिनसम्म सञ्चालित तालिमको मङ्गलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ ।

कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मिरादेवी अधिकारीले सानो लगानी र थोरै मेहनतमा पनि अगरबत्ती तथा दालमोठ बनाउन सकिने भएकाले महिलाहरुलाई व्यावसायिक रुपमा लाग्न सुझाव दिएकी छिन् । उनले लघुउद्यमीका लागि निःशुल्क उद्योग दर्ता गर्न र ५ वर्षसम्म आयकर तिर्न नपर्ने व्यवस्था रहेको जानकारी दिँदै उद्योग दर्ता गरेर आएको खण्डमा व्यवसायका लागि आवश्यक औजार सहयोग गर्न सकिने बताइन् ।

सोही कार्यक्रममा जिविकोपार्जन शिक्षा तथा विकास समाज (लिड्स) नेपालका प्रवन्ध निर्देशक पदमराज श्रेष्ठले सिपमूलक तालिम नीति निर्माताहरुलाई समेत झकझकाउने खालको रहेको बताए । संरक्षक म्याग्दीका अध्यक्ष जिसीको अध्यक्षता, सचिव देवी आचार्यको सञ्चालन र सदस्य गीता कुँवरको स्वागतमा सम्पन्न कार्यक्रममा प्रशिक्षक हिराकुमारी पाईजा, सहभागीद्वय राधिका रेग्मी र गंगा राईले मन्तव्य राखेका थिए । प्रताप बानियाँ

विज्ञापन