जिल्लाका स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतनलाई सहज बनाउन सुविधा थपिएपछि सेवा लिनेको संख्या बढेको छ । विगतमा गर्भपतनका बारेमा समाजमा हल्ला फैलने त्रासका कारण अविवाहित र विवाहित महिलाले निजी क्लिनिकबाट औषधी खरिद गरी जोखिमपुर्ण तरिकाले प्रयोग गर्ने गरेका घटना सार्वजनिक हुने गरेका थिए । पछिल्ला एकबर्ष यता जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ र १२ वटा स्वास्थ्य चौकीमा रहेको सुरक्षित गर्भपतन केन्द्रमा पु्गेर सेवाग्राहीले सेवा लिन थालेपछि असुरक्षित गर्भपतन गर्नेको संख्यामा ह्वात्तै कमी आएको स्वास्थ्यकर्मीको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालय संग सहकार्य गरी आइपास नामक संस्थाले जिल्लामा आधुनिक सेवासंगै ग्रामिणस्तरमा विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिएपछि लुकिछिपी सेवा लिनेहरूको संख्यामा उल्लेखनीय सुधार आएको आइपास नेपालकी जिल्ला संयोजक उपमा बरालले बताईन् । ‘असुरक्षित गर्भपतनलाई न्यूनिकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।हरेक तीन महिनामा सेवाग्राहीको समस्या र सेवाका बारेमा छलफल समेत हुन्छ’ बरालले भनिन् । उनले ग्रामिण क्षेत्रमा सेवाका बारेमा जानकारी नभएकै कारण वा स्वास्थ्य संस्थामा पहुँच, त्रास लगाएतले असुरक्षित गर्भपतन र मानवीय दुर्घटनाका घटना समेत हुने गरेको अवस्थामा सेवाग्राहीको परिचयलाई गोप्य राखेर समेत सेवा उपलब्ध गराइएको बताईन् ।

आइपास नेपालले सुरक्षित गर्भपतन सेवाका लागि स्वयमसेवकको ब्यवस्था समेत गरेको छ ।त्यस्तै उपकरण सहित आवश्यक फर्निचर सहितको पूर्वाधारमा समेत सहयोग गरेकाले पनि सेवालाई सहज बनाउन सहयोगी भूमिका खेलेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रोशन न्यौपानेले बताए । ‘अविवाहित यूवतीहरूले आत्महत्या गर्नुमा असुरक्षित यौन सम्पर्क पनि एउटा समस्या बनेको छ । शिक्षित बर्गले सुरक्षित गर्भपतनका बारेमा सन्देश फैलाउनुपर्छ’ उनले भने । उनले सेवाको गुणस्तीयता सुधारका लागि २८ वटा सुचक तयार गरी हरेक सेवाकेन्द्रमा प्रयोगमा ल्याइएको बताए ।

जसमा सेवाग्राहीले नाम दर्ता नगरी सिधा सेवाप्रदायकबाट सेवा लिने, आर्थिक अभावका कारण सेवा लिनबाट बन्चित, महिलाले छनोट गरेको उपयुक्त विधिको प्रयोग, सुरक्षित गर्भपतन पछि सन्तुलित परार्मश उपलब्ध, गर्भपतन गरेका महिलालाई दुखाई कम गर्ने लगाएत करिव दुईदर्जन सुविधाका बारेमा सेवाग्राहीले सहज जानकारी लिन सक्ने ब्यवस्था गरिएको डा. न्यौपानेको भनाई छ । अवैध गर्भपतन गर्न जाने यूवतीलाई स्वास्थ्यकर्मीले यूटुवबाट समेत सेवाका बारेमा जानकारीमुलक भिडियो देखाउने गरेका छन् । गर्भपतन सेवाका बारेमा सबै ब्रोसर र भिडियोबाट समेत समेत उपलब्ध गराउने गरिएपछि सेवा लिन आउनेहरूलाई सहज भएको स्वास्थ्यकर्मीको अनुभव छ । तीन महिनामा सेवामा देखिएका समस्या, आवश्यक औषधी सहितका सुविधा लगाएतका विषयमा समिक्षा तथा अनुगमन समेत गर्ने गरिएको छ ।

यसैविच सेवालाई प्रभावकारी बनाउन डा. रोशन न्यौपानेको नेतृत्वमा बेनी नगरपालिका सिंगा तातोपानीस्थित स्वास्थ्य चौकीको समेत अनुगमन गरिएको छ । अनुगमनको क्रममा सुविधा थपिएपछि स्वास्थ्यचौकीबाट १३ जनाले सेवा लिएको पाइएको छ । जसमा २४ बर्ष मुनिका १ जना र गर्भपतन गरेर नियमित अस्थायी साधन प्रयोग गरिरहेका ७ जना रहेको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो तिनमहिनामा समान्य पूर्वाधार भएका कारण सेवा लिन सदरमुकाम बेनी जाने गरेका थिए। जिल्लागत गत आर्थिक बर्षमा १२ सय ८१ जनाले स्वास्थ्य केन्द्रमा पुगेर सेवा लिएका थिए । सुरक्षित प्रसुती सेवाबाट बच्चा जन्माउने र पतन गर्ने करिव करिव एउटै संख्या रहेको छ । जिल्लामा घरभित्रको प्रसुती सेवा मुक्त क्षेत्र घोषणा अभियान समेत सञ्चालन भइरहेको छ ।