सन्तोष गौतम
राष्ट्रिय प्रकृती संरक्षण कोष अन्तरगतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले म्याग्दीको उत्तरी क्षेत्रमा यस वर्ष करिब पचास लाख रुपैया बराबरको योजना तथा कार्यक्रम सञ्चालन गरेको छ । एक्यापको घान्द्रुक स्थित इलाका कार्यालयले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा अन्नपूर्ण गाउँपालीकाको नारच्याङमा २३ लाख, शिखमा १२ लाख र घारमा १० लाख असी हजार रुपैया बजेट बिनियोजन भएको जानकारी गराइएको हो ।

कार्यालयका प्रमुख बिदुरबिक्रम कुईकेलले एक्याप अन्तरगत गठीत गाउँ संरक्षण व्यवस्थापन समिति मार्फत पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण, जैविक विवीधता र वातावरण संरक्षण, साना पूर्वाधार र सामाजिक क्षेत्रमा बजेट खर्च हुने जानकारी दिनुभयो ।

नारच्याङ हुदै निलगिरी र अन्नपूर्ण आधार शिवीर पुग्ने पदमार्ग निर्माणका लागि दश लाख, लेकगाउँमा सामुदायीक लजको भवन बनाउन दुई लाख, घारको रातोपानी संरक्षणका लागि ७८ हजार रुपैया बजेट बिनियोजन भएको छ । अन्य योजना तथा कार्यक्रमहरु समेत सञ्चालन हुने एक्यापले जनाएको छ । कार्यालयका प्रशासन सहायक आनन्द सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा सरोकारवाला कार्यालयका प्रमुख, गाउँ संरक्षण व्यवस्थापन समितिका पदाधीकारी र वडा सचिवहरुको सहभागीता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले पर्यटन प्रर्वद्धनमा एक्यापको महत्वपूर्ण भुमिका रहेको बताउँदै यसलाई थप व्यवस्थित, प्रभावकारी, पारदर्शी र जनसहभीतामुलक बनाउन सुझाव दिनुभयो । कार्यक्रममा सहभागीहरुले सडकका कारण पुराना पदमार्ग बिस्थापित भएपछि पर्यटकहरु माथिल्लो क्षेत्रतर्फ आकर्षित भएपछि त्यहाँ खाने बस्ने होटलको अभाव रहेको र घोडेपानीमा सिसाजन्य फोहोर व्यवस्थापनको समस्या समाधानका लागि पहल गर्न सुझाव दिएका थिए ।

विज्ञापन