धौलागिरि सांस्कृतिक महोत्सव सातौं दिनमा प्रवेश

0
229

(प्रताप बानियाँ)
म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा जारी प्रथम धौलागिरि सांस्कृतिक महोत्सव आजदेखि सातौं दिनमा प्रवेश गरेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान धौलागिरि अञ्चल कार्यसमितिको मूल आयोजनामा सञ्चालित महोत्सवमा बुधबार विभिन्न प्रस्तुतीहरु सम्पन्न भएका छन् ।

महोत्सवको अवसरमा आयोजना गरिएको अञ्चल लिगस्तरीय पुरुष भलिबलको फाइनलमा पर्वत र बागलुङ जिल्ला प्रवेश गरेका छन् । यसअघि मङ्गलबार सम्पन्न महिला भलिबलमा म्याग्दी ए प्रथम भएको थियो भने पुरुष भने तृतीय भएको खेलकुद संयोजक एवं प्रशिक्षक तेजेन्द्र बानियाँले जानकारी दिए ।

सांस्कृतिक महोत्सवमा आज राष्ट्रिय कलाकारहरु वसन्त थापा, जुना श्रीसमगर, चन्द्राकार्की, दिपक खड्का र लोकदोहोरी प्रतिष्ठान धौलागिरि कार्यसमितिका पदाधिकारीहरुले आ–आफ्नो प्रस्तुतीमार्फत दर्शक स्रोतालाई मनोरञ्जन दिइरहेको आयोजक समितिका वरिष्ठ उपाध्यक्ष कृष्ण अखेलीले बताए ।
यसैगरी आजै एकल नृत्य प्रतियोगिता समेत सम्पन्न भएको उनले बताएका छन् । महोत्सवको दिनानुदिन आकर्षण, रोचक बढ्दै गैरहेको छ भने त्यति नै मात्रामा दर्शकहरुको पनि उपस्थिति रहेको आयोजकले आँकलन गरेका छन् । उक्त महोत्सवको अवसरमा विभिन्न व्यापारीक स्टलहरुमा कारोबार भैरहेको बताइएको छ भने रमाइलो मेला समेत सञ्चालन भैरहेको छ ।