जिल्लाको मंगला गाउँपालिका–३ बरंजामा पार्किङ्गस्थलमा राखिएको पश्चिम म्याग्दी यातायात सेवा प्रालिको जीप बिहिबार राती अज्ञात समुहले आगजनी गरेको छ । बेनीबाट बरंजाका यात्रु लिएर गाउँमा पुगेको जीप विहान आगजनीबाट ध्वस्त भएको अवस्थामा भेटिएको थियो ।

पश्चिम म्याग्दी मार्फत सञ्चालित दुईवटा मध्ये एउटामा आगजनी गरिएपनि घटनामा संलग्नको पहिचान हुन सकेको छैन् । गत मंसिर १९ गतेबाट सेवा शुभारम्भ गरेको प्रालिको जीपमा गरिएको यो पहिलो आक्रमण भने होईन् । सेवा शुभारम्भका लागि ल्याइएको जीप मंसिर १७ गते पर्वत बेनीमा समेत तोडफोड गरिएको थियो । सेवाको सुरुवात गर्नु अगाडी नै अज्ञात समुहको निशानमा परेको प्रालि अन्र्तरगतका जीपले अहिलेसम्म चारपटक तोडफोड र आगजनी भएको छ ।

पश्चिम म्याग्दीका यूवाहरुले करिव १ करोडको लगानीमा सुरू गरेको यातायात सेवा अवरोधका लागि तोडफोड र आगजनीसम्मको सामना गर्नुपरेपनि अहिलेसम्म भएका घटनामा संलग्नलाई प्रहरीले पहिचान गर्न सकेको छैन् । गत मंसिर १७ गते ध १ ज ५९४ र ध १ ज ४९६ नम्बरको जीप तोडफोड भएपछि सेवामा अवरोधको प्रयास भएको भन्दै पश्चिम म्याग्दीले सुरक्षाको माग समेत गरेको थियो । त्यसयता सदरमुकाम बेनी स्थित नेपाली सेनाको श्रीबक्स गुल्म अगाडी र दरवाङमा समेत तोडफोड भएको थियो ।‘अहिलेसम्म तोडफोड गरेर सेवा अवरोधको प्रयास भएको थियो । हिजो आगजनी नै गरे’प्रालिका अध्यक्ष श्रीप्रसाद रोकाले बेनीअनलाइनलाई भने ।

उनले केही महिनामै जनताको मन जित्न सफल भएको प्रालिलाई अवरोध गर्ने र सेवा बन्द गराउने नियतले आक्रमण भएको दावी समेत गरे । उनले आगजनीमा संलग्न भएकालाई खोजी गर्न प्रहरी समक्ष माग समेत गरेका छन् । उनले जीपका चाकललाई धम्काउने, त्रसित बनाउने जस्ता घटना समेत भइरहेको बताउँदै सहज र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरे । बेनी–दरवाङ, बेनी–ओखरबोट हुदै बागलुङको तमान लगाएत ग्रामिण क्षेत्रका जनताको घरदैलोमै सुरक्षित यातायात सेवा विस्तार गरेको सेवालाई आगजनी र तोडफोड गरेर अवरोधको प्रयास भएको बताउँदै प्रहरीबाट निस्पक्ष छानविनको माग समेत गरे ।

जिल्लाभित्रकै यूवाले यातायातका क्षेत्रमा लगानी गरेर सेवा विस्तार गर्दा अवरोध भएको भन्दै यस्ता घटनामा संलग्न भएकालाई कारवाही नभए भविस्यमा थप क्षती हुने र अपराधिक घटनामा संलग्नलाई थप बल पुग्ने समेत बताए । प्रालिले बरंजामा पेट्रोलको प्रयोग गरी आगजनी गरिएको भन्दै स्थानीयबासीले समेत दोषीलाई पत्ता लगाउन सहयोगको प्रतिबद्धता जनाएको बताए ।

गाउँमा आगजनी गरेर बरंजाबासीको इमान्दारितामा शंका गर्ने प्रयास गरिएको भन्दै गाउँका अगुवाले घटनामा संलग्नलाई कारवाहीका लागी आवश्यक परे दवावमुलक कार्यक्रम समेत गर्न सकिने चेतावनी समेत दिएका छन् । शुक्रबार स्थानीयले घटनामा संलग्नको पहिचानमा सघाउने प्रतिबद्धता समेत जनाएको उनले बताए । यता प्रहरी निरिक्षक दिबाकर घिमिरेले घटनाको अनुसन्धान भइरहेको बताए । ‘घटनाको अनुसन्धान भइरहेको छ । आगलागी बारे केहीदिनमा सबै तथ्य सार्वजनिक हुन्छ’ उनले भने । करिव एक करोड लगानीमा पाँच जना यूवाले सुरु गरेको जीप सेवामार्फत ग्रामिण क्षेत्रका गरिव र विपन्नलाई सहुलियतमा समेत सेवा प्रदान भइरहेको छ ।
यो पनि पढ्नुहोस् अज्ञात समुहले पश्चिम म्याग्दी यातायात सेवाका दुईवटा जीप तोडफोड