अगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा बेनी नगरपालिकाका मेयरमा कुन पार्टीले कसलाई उम्मेदवार बनाउँछ भन्ने चर्चा सुरू भएको छ। निर्वाचनको चहपहल सुरू भएपनि अहिलेसम्म कुनैपनि पार्टीले मेयरको उम्मेदवार टुंगो लगाउन नसकेपनि पार्टीका आन्तरिक बैठक सामाजिक सञ्जाल, बजार देखी ग्रामिण क्षेत्रसम्म ब्यापक चासो बढेको छ । सामाजिक सञ्जालमा आफ्ना नजिकका ब्यक्तिहरूको प्रचाप्रसारमा कार्यकर्ता सक्रिय भएपनि पार्टीभित्र आकांक्षीहरू धेरै भएकाले सर्वसम्मतिमा चित्त बुझाउन हम्मेहम्मे पर्ने देखिन्छ । जिल्लाको एकमात्रै नगरपालिका हाक्ने मेयरका लागि अहिलेसम्म अन्य पार्टीको तुलनामा एमालेमा धेरै चर्चा छ ।

एमालेका कार्यकर्ता र शुभचिन्तकले मेयरका उम्मेदवारका अगाडी ल्याउनुपर्ने भन्दै सामाजिक सञ्जालमा आफुँलाई मनपर्ने नेताका बारेमा चर्चा गरिरहेका छन् । नेपाली कांग्रेसमा समेत आन्तरिक छलफल ब्यापक छ । नगरपालिकाभित्र लोकप्रियता भएका नेता खोज्ने भन्दै कांग्रेसले आन्तरिक छलफलमा विभिन्न ब्यक्तिका नामहरूलाई प्रस्तुत गरिरहेको छ । त्यस्तै माओवादी केन्द्रभित्र उम्मेदवारको खोजीमा छलफल सुरु भएको छ ।

माओवादी केन्द्रले नगरपालिका भित्र विगतमा समेत राम्रो छवी भएको नेतालाई सर्वसम्मति रुपमा उम्मेदवारी बनाउने जनाएको छ । बेनी देखी ग्रामिण क्षेत्रमा रहेका मतदाताको मन जित्ने उम्मेदवारको छिट्टै टुंगो लगाउने माओवादीको दावी छ । राप्रपा नेपाल र राप्रपा विचको एकिकरण भएकाले राप्रपाले समेत चुनावी अभियान सुरु गरेको छ । बेनी नगरपालिकामा मुख्य गरी तीन ठुला राजनीतिक दल विच नै कडा प्रतिस्पर्धा हुने छ । बेनी नगरपालिका भित्र रहेका कुल १८ हजार ४ सय २१ मतदातालाई आर्कषित गर्न सक्ने नै बेनी नगरपालिकाको पहिलो मेयरको इतिहास रच्दै नगर क्षेत्रको रुपरेखा कोर्न छन् ।

बेनी नगरपालिका भित्रको रत्नेचौर, ज्यामरुककोट,अर्थुङ्गे, पुलाचौर, घतान, सिंगासंगै भकिम्ली र पात्लेखेत समेत समावेश गरिएकाले कुन पार्टीले जित्छ भन्ने अनुमान लगाउन मुस्किल छ । स्थानीय निकायको निर्वाचन लगत्तै बजारको आर्थिक कारोबार, चहपहल सहित सम्रग ब्यापार घट्ने अवस्थामा भिजन भएकोे नेता मतदाताको रोजाईमा पर्ने करिव निश्चित छ । तीन राजनीतिक दलको प्रभाव भएका वडाभन्दा पनि विगतमा आवद्ध रहेका संघसंस्थामा काम गरेको अनुभव, नगरपालिकाको आर्थिक सहित सम्रग विकासमा खेल्न सक्नेलाई यूवापुस्ताले रोज्न सक्ने अवस्थालाई मध्यनजर गरेर समेत पार्टीले केन्द्रिय मापदण्डमा रहेर उम्मेदवार बनाउन सक्ने अनुमान नगरबासीको छ ।

नेपाली कांग्रेस
नगरपालिकाको उम्मेदवारमा नेपाली कांग्रेसमा मेयरका लागि पार्टीका पदाधिकारी देखी पार्टीमा आवद्ध रहेका ब्यापारीसम्मको चर्चा छ । नगरपालिकाका वडास्तरसम्म पहुँच र आफ्नो प्रभाव पार्न सफल भएका नेताको खोजीमा जुटेको कांग्रेसमा पार्टी सचिव हरिकुमार श्रेष्ठ, क्याप्टेन मिन बहादुर कार्की, बेनी नगरपालिका नगर प्रमुख अनोद श्रेष्ठ, लिला बहादुर बानियाँ लगाएतको नाम चर्चामा छ ।

पार्टीका जिल्ला कार्यसमिति सदस्य अजयमिलन श्रेष्ठका अनुसार नगर र गाउँपालिकामा पार्टीको अभियान सञ्चालन भइरहेकाले कार्यकर्ताको सुझावका आधारमा नाम तयार गरी पुनः अर्को टोली गाउँमा पुगेर आएपछि मात्रै नाम टुंगो लगाउने बताए । उनले कुनै ब्यक्ति बिशेष चर्चा भन्दा पनि कार्यकर्ता र पार्टीमा योगदान गरेकालाई उम्मेदवार बनाउने बताए । अहिलेको चुनावी माहोलबाट फर्किएपछि प्रारम्भीक उम्मेदवारका विषयमा छलफल हुने उनको भनाई छ ।

नेकपा एमाले
नगरपालिकामा मेयरको उम्मेदवारको सुची एमाले भित्र धेरै देखिन्छ ।पार्टीको आन्तरिक छलफल देखी कार्यकर्ता माझ समेत विभिन्न ब्यक्तिको चर्चा धेरै हुने गरेपनि एमालेले समेत आधिकारिक उम्मेदवारको टुंगो लगाउन सकेको छैन् ।हालै भएको पार्टीको जिल्ला कमिटीको पुर्ण बैंठक, नगर कमिटीको भेलामा समेत चर्चा भएपनि नामका विषयमा अहिलेसम्म कुनैपनि आधिकारिक धारणा बाहिर आउन सकेको छैन् ।

पार्टी अध्यक्ष विरामी भएर आराम गरिरहेको अवस्थामा एमालेले तत्कालै मेयरको नाम सार्वजनिक गर्ने सम्भावना नभएपनि सर्वाधिक चर्चामा नगर कमिटी संयोजक प्रमोद श्रेष्ठ, यूवा संघका विदेश विभाग प्रमुख सन्तोष रावल, सचिवालय सदस्य राजकुमार थापा, लेखा समिति संयोजक चन्द्रकु्मार केसी, पत्रकार महासंघका निर्वतमान अध्यक्ष सुरत केसी, खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगाएतको चर्चा छ । पत्रकार महासंघका निर्वतमान अध्यक्ष केसी राज्यमन्त्री नरदेवी पुनको स्वकिय सचिव भएर मन्त्रालय र कर्मचारीभित्र बनाएको पहुँच, एमालेबाट विभाजित भएर मालेमा जिल्लका सबैजसो नेताहरु प्रवेश गर्दा पार्टी जोगाउन धौलागिरिमा प्रवेश गरेका पुराना नेता भएपनि सामाजिक संघसंस्थामा सक्रिय भएकाले पार्टीका पद नखोज्ने नेताका रुपमा केसीलाई चिन्ने गरिन्छ । अहिले पनि उनले अन्तिममा पछाडी हट्छ भन्नेहरुलाई यसपटक आफ्नो प्रष्ट खाका सहित दावेदारी प्रस्तुत गर्ने स्रोतको भनाई छ । उनले एमालेबाट विभाजित भएको अवस्थामा जिल्लामा ज्यानको बाजी समेत राखेर संगठनको काममा लागेकाले नै अहिले पार्टीको जनआधार बलियो भएको भन्नेहरु समेत छन् ।

जिल्लामा बेनी नगरपालिकाको स्थापना भएलगत्तै धेरै चर्चामा आएका पात्र प्रमोद श्रेष्ठ भएपनि अहिले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरतर्फको उपाध्यक्षको उम्मेदवार बनेका श्रेष्ठ चुनावी अभियानमा ब्यस्त छन् । श्रेष्ठपछि धेरै चर्चामा सुनिएका पात्रमा सन्तोष रावल मानिन्छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको लाइनलाई जिल्लामा स्थापित गर्ने पात्रको रुपमा समेत रावललाई चिन्ने गरिन्छ । तर उनलाई यूवा संघको केन्द्रिय सचिवमा लविङ गर्ने गरी यताबाट नाम निकाल्ने चर्चा समेत सुनिन्छ । तर एमालेभित्रबाट सिफारिस गरिएका ब्यक्तिमा कसले प्रदेश र केन्द्रमा प्रभाव पार्न सक्छ उसले टिकट पाउने निश्चित छ । पार्टीभित्र धेरैको दावी भएकाले अन्तिममा सबैको साझा उम्मेदवार बनाउने विषयमा समेत छलफल हुन सक्ने एमाले स्रोतको भनाई छ ।

माओवादी केन्द्र
माओवादी केन्द्रमा मेयरको उम्मेदवारका विषयमा बजारमा हल्ला दुई ठुला पार्टीको तुलनामा कम छ । पार्टीको नेतृत्वमा सरकार रहेको र अघिल्लो सरकारले बजेट सार्वजनिक गरेपनि अन्य माध्यमबाट बजेट ल्याउन निकै सक्रियतापूर्वक चासो देखाइरहेका माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल सहितको टोली आन्तरिक छलफलमा ब्यस्त छ । नगरपालिका भित्र माओवादी समेत प्रतिस्पर्धामा उत्र्रन सक्ने वडाहरू रहेकाले पनि माओवादीबाट जिल्लाका कोषाध्यक्ष शेर बहादुर केसी, पुराना कम्यूनिष्ट नेता सुवास कुमार श्रेष्ठ लगाएतको चर्चा छ ।

पार्टी विभाजनपछि कमजोर भएको भकिम्ली, ज्यामरुककोट लगाएतका क्षेत्रमा माओवादीले आफ्नो संगठनलाई पुर्नगठन गरी अगाडी बढेकाले पनि माओवादी उत्साहित छ । माओवादीको भकिम्लीमा निस्कृय बसेका केही नेताहरु समेत पार्टीमा सक्रिय भएकाले पनि माओवादीले सबै वडाका प्रतिनिधिहरुसंगको छलफल पछि उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ । कराडौंको बजेट, नगरपालिकाको प्रमुख सहित जिल्लाकै सबैभन्दा शक्तीशाली नेता बन्न सक्ने आधारहरू रहेकाले पनि मेयरका लागी नेताहरुले आफ्नो ब्यक्तिगत लविङलाई समेत तिब्रता दिइरहेका छन् ।