ग्रामिण क्षेत्रमा चुनावी सरगर्मी, वडा-गाउँपालिकाका उम्मेदवार टुंगाउने तयारी अन्तिम चरणमा

0

आगामी बैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनको तयारीमा म्याग्दीका राजनीतिक दल जुटेका छन् । सदरमुकाम बेनीमा खासै चुनावी चर्चा र पहलपहल नभएपनि बेनी नगरपालिका र गाउँपालिकाका विभिन्न वडामा चुनावी चहलपहल सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगाएतका साना दलले चुनावी चहलपहललाई तिब्रता दिएका छन् ।

तीन ठुला राजनीतिक दलमा कांग्रेसले अहिलेसम्म अन्नपुर्ण गाउँपालिकाको प्रमुखको उम्मेदवारी र सोही गाउँपालिकाको वडा नम्बर ६का अध्यक्षको प्रत्यासीलाई टुंगाएको छ भने नेकपा एमालेले अन्नपुर्ण गाउँपालिकाकै ६ नम्बर वडामा अध्यक्षको उम्मेदवारी घोषणा गरेसंगै पहिलो उम्मेदवारी टुंगो लगाएको छ । कांग्रेस र एमालेले वडास्तर, आन्तरिक छलफल लगाएतका गतिविधिमा केन्द्रित भएर अभियान सुरू गरेका छन् भने माओवादीले समेत वडास्तरमा भेटघाट सहित उम्मेदवारीको सुची तयार गरिरहेको छ ।

त्यस्तै राप्रपाले आफ्ना पुराना पकट भएका क्षेत्रमा पुन आफ्नो प्रभावलाई कायम राख्ने गरी योजना बनाएको देखिन्छ । जिल्लामा चुनावी चहपहल सुरु भएसंगै राजनीतिक दलका कार्यकर्ता समेत ब्यस्त भएका छन् । कांग्रेस र एमालेलाई वडास्तरमै धेरै आकांक्षी भेटिएकाले हम्महम्मे भएको छ । माओवादी केन्द्रका समेत वडास्तरमा सम्भावित उम्मेदवारहरु तयारी अवस्थामा रहेको पार्टी स्रोतको भनाई छ । जिल्लाभर चुनावी चहलपहल संगै कुन वडा, गाउँपालिका र एक नगरपालिकामा कसले जित्छ भन्नेमा समेत चर्चा सुरु भएको छ । कुल ७१ हजार ९ सय १२ मत रहेको म्याग्दीका दुईदशक पछाडी हुन लागेको निर्वाचनको तयारीमा राजनीतिक दल सक्रिय भएपछि सुरक्षा संयन्त्रले समेत आफ्नो प्रभाव बढाएको छ ।

म्यादी प्रहरीको लिखित र अन्र्तरवार्ता टुंगो लागेपछि अन्तिम नामाबली प्रकाशनको तयारीमा प्रशासन र प्रहरी जुटेका छन् । रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती र बेगखोला गाविसले पाखापानी केन्द्र दुर्गम र जनतालाई सास्ती दिने ठाउँमा रहेको भन्दै पिप्लेको मौवाफाँटमा केन्द्र नतोकिए निर्वाचन बाहिस्कारको घोषणा गदैं राजनीतिक दलका प्रतिनिधिहरु काठमाण्डौ केन्द्रित छन् । त्यस्तै धौलागिरि गाउँपालिकाको ताकममा समेत निर्वाचनमा जाने कि के गर्ने भन्नेमा आन्यौलता छ । निर्वाचन कार्यालयका प्रमुख केदारनाथ पौडेलले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार बहत्तर मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै जनशक्ती ब्यस्थापन, सुरक्षा रणनिती समबन्धि गतिविधि र मतदाता शिक्षालाई तीब्र बनाउने योजना छ ।