म्याग्दी सदरमुकाम बेनीमा साताव्यापी पाठेघर (आङ) खस्ने रोगको निःशुल्क उपचार शिविर मंगलबार सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरा र जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना तथा देवदह मेडिकल कलेज शिक्षण अस्पताल रुपन्देहीको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ८ सय १० जनाको हाराहारीमा महिलाले निशुल्क सेवा लिएका छन ।

त्यस्तै शिविरमा २६ जना महिलाको पाठेघरको अप्रेसन गरिएको छ । शिविरको समापनको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद नरदेवी पुनले महिलामा पाठेघरको समस्या डरलाग्दो अवस्थामा रहेकाले ग्रामिण क्षेत्र केन्द्रित शिविर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षित महिला र राज्यको पहुँचमा रहेकाले समेत नियमित चेकजाँच नगर्ने र रोगलाई लुकाएर बस्ने गरेको बताउँदै महिलाको सुन्दरताको रुपमा रहेको पाठेघरको समस्यालाई न्यूनिकरण गर्न शिविर सहित हरेक महिलाको पहुँचमा पुग्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा देवदह मेडिकल कलेज शिक्षणकी डा. ज्योती रानाले जिल्लामा जटिल अवस्थाका विरामीको संख्या समेत भेटिएको बताउनुभयो । शिविरमा आएका महिला मध्ये २६ जनाको अप्रेसन गर्नु भनेको जिल्लामा यस्ता समस्या भएका महिलाहरु धेरै भएकाले ज्यान जोखिममा राखेर रोग नलुकाउन समेत अनुरोध गर्नुभयो । शिविरको ब्यवस्थापनमा सघाइरहेका लायन्स क्लव सहित विभिन्न सामाजिक संस्थाको तर्फबाट दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष जमुना आचार्यले भविस्यमा समेत यस्ता शिविरलाई प्राथमिकता दिन अनुरोध गर्नुभएको थियो ।

गर्भवती र सुत्केरी अवस्थामा स्वास्थ्यमा ध्यान नदिँदा महिलाहरुमा आङ खस्ने समस्या बढ्दै गएको बक्ताहरुको भनाई थियो । जिल्ला स्वास्थ्य कार्यालयकी लिला गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले अध्यक्षता गर्नुभएको थियो । शिविरलाई सञ्चालन गर्न सहयोग गर्ने विभिन्न संघसंस्थालाई धन्यवाद सहित प्रशंसापत्र वितरण गरिएको थियो